पोखरीमा डुबेर पाँच बालिकाको मृत्यु, काँग्रेस उपसभापति निधिद्वारा दुख प्रकट
जनकपुरधाम । धनुषाको मुखियापट्टी मुसहरनीया गाउँपालिकाको वडा नंं ६ मा रहेको पोखरीमा डुबेर ५ जना बालिकाको मृत्यु भएको छ ।
चर्को गर्मीबाट जोगिनका लागि पोखरीमा नुहाउन गएका बेलामा वडा नंं ६ लक्ष्मीपुरका ५ पाँचै जना मृतक बालिकाहरू १२ वर्ष मुनिका रहको वडाध्यक्ष धर्मेन्द्र कुमार यादवले जानकारी दिनुभयो । घटना दिउँसो १२ बजेदेखि १ बजेको बिचमा भएको वडाध्यक्ष यादवले बताउनुभयो ।
डुबेर मृत्यु हुनेमा पल्टु यादवकी छोरी वर्ष १२ की लक्ष्मीनिया यादव, राजगिर भगतकी छोरी वर्ष १० की चन्दा भगत, रजिन्दर पूर्वेकी छोरी वर्ष वर्ष १२ की रञ्जु पूर्वे, उत्तीम साह तेलीकी छोरी वर्ष ११ की ललिता साह र जगरनाथ ठाकुरकी नातिनी वर्ष १२ की चाँदनी ठाकुर रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
घटना स्थलमा जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक मकेन्द्र कुमार मिश्रको नेतृत्वमा पुगेको टोली पुगेर मृतक बालिकाहरूको सनाखत गरेर पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाममा शव ल्याएर पोस्टमार्टम गरी परिवार जनको जिम्मा लगाइएको छ ।
घटनापछि गाउँपालिकाको वडा नंं ६ भगवतीपुर गाउँ नै शोकमा डुबेको छ ।
यसै बिच नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले घटनाप्रति दुःख प्रकट गर्दै शोकाकुल परिवारमा समवेदना प्रकट गर्नुभएको छ ।
धनुषा क्षेत्र नंं ३ निवासी समेत रहनुभएका काँग्रेस उपसभापति निधिले सामाजिक सञ्जाल ट्विट गर्दै दुःखद घटनको छानबिन गर्न पनि माग गर्नुभएको छ ।








प्रतिक्रिया राख्नुहोस्