प्रशासनिक भवन निर्माणमा लापरबाही
सर्लाही। सर्लाहीको मलङ्गवा नगरपालिकाको प्रशासनिक भवन निर्माण गुणस्तरहीन भएको पाइएको छ । मलङ्गवा नगरपालिका–२ को सिटिइभिटी कलेज र शिक्षा कार्यालयको अगाडि निर्माण शुरु भएको भवनको निर्माणमा लापरबाही भएको पाइएको हो । भवन निर्माणमा गुणस्तरहीन सामान प्रयोग भइरहेको भए पनि मलङ्गवा नगरपालिकाका नगरप्रमुख निरसल साहलगायत सरोकारवाला निकाय मौन देखिएका छन् । नगरप्रमुख साहका अनुसार आरसिसीको रिङमा इँट्टा जडान गरेको स्थानमा केही समस्या आएको हो । त्यसलाई ठेकेदार कम्पनीले व्यवस्थापन गर्ने बताएको नगरप्रमुख साहले जानकारी दिनुभयो ।
पूर्वाधार विकास कार्यालय जनकपुर र मलङ्गवा नगरपालिकाको गरी कूल रु चार करोड ९७ लाखको लागतमा निर्माणाधीन अवस्थामा रहेको नगरपालिकाको प्रशासनिक कार्यालयको भवन तीन तले बन्ने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत होमनाथ सुवेदीले जानकारी दिनुभयो । बहु वर्षे कार्यक्रमअन्तर्गत ग्रागन शिवालय (जेभी) कम्पनीले निर्माणको काम गरिरहेको छ ।
प्राविधिक समस्याका कारण तीन तले भवनको जग भत्किएको र त्यसमा गुणस्तरहीन नभई प्राविधिक कारण पर्खाल भत्किएको साथै पर्खाल भत्किनुमा नगरपालिका जबाफदेही हुने निर्माण कम्पनीले जनाएको छ । नगरपालिकाले परिणाम घट्ने भन्दै माटो अड्याउने गरी मात्र काम गर्न भनेको र सोहीअनुसार काम गर्दा समस्या आएको कम्पनीका साइट प्रमुख सुनिल सुवेदीले बताउनुभयो । आफूहरूले तिरेको करबाट भएको निर्माणमा गुणस्तरहीन काम भएको भन्दै निर्माण रोकेर सरोकारवाला निकायले स्थलगत निरीक्षण गरी सत्य तथ्य छानबिन गरी ठेकेदारलाई कारबाही गर्न स्थानीय बासिन्दाले माग गरेका छन् ।रासस








प्रतिक्रिया राख्नुहोस्