भीरकोटमा अक्सिजन प्लान्ट निर्माण

स्याङ्जा । भीरकोट नगर अस्पतालमा मिनी अक्सिजन प्लान्ट निर्माण गरिएको छ । कोरोना सङ्क्रमितहरूका लागि अक्सिजनको अभाव भइरहेको खबरहरू आइरहँदा भिर कोटमा भने अक्सिजन प्लान्ट जडान गरिएको हो । भीरकोट नगरपालिका र महावीर पुनले स्थापना गरेको राष्ट्रिय आविष्कार केन्द्रले ५०/५० प्रतिशत लगानीमा प्लान्ट जडान गरेको हो ।
वैकल्पिक प्रविधिबाट स्याङ्जाको भीरकोट नगर अस्पतालमा मिनी अक्सिजन प्लान्ट निर्माण गरिएको केन्द्रले जनाएको छ । पुनको केन्द्रले सोमवार एक कार्यक्रमको आयोजना गरी मिनी अक्सिजन प्लान्ट अस्पताललाई हस्तान्तरण गरेको हो । केन्द्रले भिर कोटमा निर्माण गरेको मिनी अक्सिजन प्लान्ट नेपालमै पहिलो मिनी अक्सिजन प्लान्ट बनेको छ । प्लान्टको सुचारु गर्दै गण्डकी प्रदेश सभा सदस्य मेखलाल श्रेष्ठले भीरकोट नगर अस्पतालमा भीरकोट नगरपालिकाको सक्रियतामा प्लान्ट निर्माण भएको बताउनुभयो ।
नगरपालिका र आविष्कार केन्द्रको संयुक्त लागतमा यो प्लान्ट निर्माण गरिएको भीरकोट नगरपालिकाका मेयर छायाराम खनालले जानकारी दिनुभयो । नगरप्रमुख खनालले मिनी प्लान्टबाट जिल्लाका सबै बिरामीहरूले सेवा लिन सक्ने जानकारी दिनुभयो । कम खर्चमा धेरै काम भएको बताउँदै १२ जना बिरामीहरूले अक्सिजन प्रयोग गर्न सक्ने जानकारी दिनुभयो ।
अक्सिजन कम भएको बेला केही गर्न सकिन्छ भनेर सबै मिलेर मिनी अक्सिजन प्लान्ट निर्माण गरिएको आविष्कार केन्द्रका मेकानिकल इन्जिनियर रितेश देवले जानकारी दिनुभयो । ७ वटा कन्सन्ट्रेटर प्रयोग गरी प्रति मिनेट ६५ लिटर अक्सिजन उत्पादन हुन मेकानिकल इन्जिनियर देवले बताउनुभयो । करिब २० लाखको लगानीमा राष्ट्रिय आविष्कार केन्द्रका ८ जना कर्मचारीहरूले उक्त मिनी अक्सिजन प्लान्ट निर्माण गरेको भीरकोट नगरपालिकाले जानकारी दिएको छ ।








प्रतिक्रिया राख्नुहोस्