तपाईँ सुन्दै हुनुहुन्छः

लिची बिक्री नहुँदा कृषक समस्यामा

पाल्पा ।निषेधाज्ञाका कारण लिची बिक्री नहुँदा किसान समस्यामा परेका छन् । पाल्पाको रम्भा गाउँपालिका–१, हुँगीमा व्यावसायिक रुपमा लिची उत्पादन हुँदै आएको भएता पनि निषेधाज्ञाका कारण लिची बिक्री हुन नसकेको हो ।

लिचीको बिरुवासमेत आफैँ उत्पादन गरेर व्यावसायिकरुपमा लिची खेती गरेका किसानहरू समस्यामा परेका छन् । राम्रो आम्दानी दिने लोभमा खेत तथा बारीमा लगाएको लिची झरेर कुहिन थालेपछि समस्या थपिएको कृषक कृष्णबहादुर कोइरालाले बताउनुभयो । गत वर्ष पनि लिची बेच्न पाइएन यो वर्ष पनि यस्तै भयो, कृषक कोइरालाले भन्नुभयो, लिची खेती गर्दा वर्षमा एक पटक मात्र उत्पादन हुने हो, झण्डै चार क्विन्टल लिची ब्रिक्री नभएपछि बोटमै कुहिएर झर्न थालेको छ । उहाँले बुटवलका व्यापारीकोमा पुर्‍याउन सके लिचीको माग उच्च रहेको तर यसतर्फ गाउँपालिकाको ध्यान नपुगेको बताउनुभयो ।

दुई वर्ष अगाडी यस क्षेत्रको लिचीलाई प्रतिकिलो रु ७० मा बोटबाट नै खरिद हुँदै आएको थियो । पाल्पाको हुगीमा उत्पादन हुने लिची पोखरा, स्याङ्जा, रुपन्देही र पाल्पाको स्थानीय बजारमा खपत हुँदै आएकोमा निषेधाज्ञाका कारण बजार पुर्‍याउन समस्या भएको हो । कृषक शान्ति सापकोटाले वर्षभरिको मेहनत गरेर फलाएको लिचीले बजार नपाउँदा समस्या परेको गुनासो गर्नुभयो ।

पहाडी जिल्ला पाल्पामा उत्पादित लिची नेपालको उत्कृष्ट रहेको यहाँका किसानको दाबी छ । पाल्पामा उत्पादित लिचीको दाना (बियाँ) सानो हुने र लिचीको सेतो भाग बाक्लो, रसिलो हुने भएकाले यहाँको लिचीको बजार राम्रो रहेको लिची व्यवसायीहरू बताउँछन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button