तपाईँ सुन्दै हुनुहुन्छः

राप्रपाद्वारा मेलम्चीमा अक्सिजन उत्पादन उपकरण सहयोग

सिन्धुपाल्चोक । राष्ट्रिय प्रजातन्त्र पार्टीले आइतबार मेलम्ची नगरपालिका स्थित मेलम्ची स्वास्थ्य केन्द्रलाई हाइड्रोजन अक्सिजन जेनेरेटर विथ निबुलाइजर मेसिन हस्तान्तरण गरेको छ ।

२९ लाख ७३ हजार मूल्य बराबरको उक्त मेसिन राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय अध्यक्ष पशुपति शमशेर जबराबाट जुम मिटिङ मार्फत स्वास्थ्य केन्द्रका प्रमुख डाक्टर आशिष श्रेष्ठलाई सम्बोधन गर्दै प्रदान गर्नुभएको थियो ।

जुम मार्फत बोल्दै पार्टी अध्यक्ष राणाले भूकम्प लगायत सिन्धुपाल्चोकको हरेक विपत्तिमा निरन्तर सहयोग गरेको र कोरोना महामारीको यो विषम परिस्थितिमा पनि सिन्धुपाल्चोकको प्रत्येक पालिकालाई स्वास्थ्य सामाग्री सहयोगको तयारीमा जुटेको बताउनुभयो । सोही अवसरमा उहाँले कोरोना सङ्क्रमण रोकथामको लागि अग्रपङ्क्तिमा रहेर देश र जनताको सेवामा खटिएका स्वास्थ्यकर्मीहरूको प्रशंसा गर्दै धन्यवाद समेत ज्ञापन गर्नुभएको थियो ।

चाइना फाउन्डेसन फर पिस एन्ड डेपलपमेन्टको सौजन्यमा राप्रपाद्वारा प्राप्त उक्त मेसिनले अक्सिजन उत्पादन गर्ने र भेन्टिलेटको समेत काम गर्ने भएकाले समुदायमा तीव्र रुपमा फैलिरहेको कोरोना भाइरसबाट मानिसहरूलाई बचाउन सहज हुने स्वास्थ्य केन्द्रका डा.श्रेष्ठले बताउनुभयो ।

राप्रपाले जिल्लाका विभिन्न स्वास्थ्य केन्द्रमा अक्सिजनको सिलिन्डर लगायत अन्य स्वास्थ्य सामग्री सहयोग गर्दै आउनुका साथै थप सहयोगको लागि पहल भइरहेको जिल्ला अध्यक्ष गोपाल नरसिंह श्रेष्ठले जानकारी दिनुभयो ।

आइतबार हस्तान्तरण गरिएको उक्त उपकरणले विद्युत् हुँदा २४ सै घण्टा सेवा प्रदान गर्न सक्नेछ भने विद्युत् आपूर्ति नभएको अवस्थामा ३ घण्टा सम्म हाइड्रोजन र अक्सिजन उत्पादन गर्न सक्नेछ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय सदस्य एवं पूर्व सांसद चलनबहादुर तामाङ, केन्द्रिय सदस्यहरु दईन्द्र बहादुर ठकुरी, उदय सापकोटा, क्षेत्रीय सभापति फडिन्द्र दाहाल लगायतको उपस्थितिमा उक्त उपकरण हस्तान्तरण गरिएको थियो ।

कोरोना भाइरसबाट सिन्धुपाल्चोकमा हालसम्म सङ्क्रमितको सङ्ख्या ३ हजार दुई सय ३६ पुगेको छ भने सक्रिय सङ्क्रमितको सङ्ख्या २ हजार ५ सय ८६ रहेको छ । मृत्यु हुनेको सङ्ख्या २७ पुगेको छ । अहिलेसम्म ६३२ जनाले कोरोना जितेर घर फर्किसकेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button