भेरी अस्पतालका स्वास्थ्यकर्मीमाथि हातपात गर्ने विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता

नेपालगन्ज। बाँकेको नेपालगन्जस्थित भेरी अस्पतालका स्वास्थ्यकर्मीमाथि हातपात गर्ने तीन जना विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएको छ ।
गए राति दाङको तुलसीपुर ११ उरहरीका ५२ वर्षीय कोरोना संक्रमित बिरामी डिल्ली बहादुर रावतको उपचारका क्रममा मृत्यु भएपछि मृतकका आफन्तले ड्युटीमा खटिएका डाक्टर र नर्सलाई हातपात गरेका थिए । घटना लगत्तै बाँके प्रहरीले राति नै तीन जनालाई पक्राउ गरेको थियो । पक्राउ परेका तीनै जना मृतकका भाइहरू मानबहादुर बस्नेत, भरत रावत र छोरा लोकराज रावत विरुद्ध आज ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरिएको बाँकेका प्रहरी प्रवक्ता सुवास खड्काले बताउनुभयो ।
घटना लगत्तै राति नै सहायक प्रमुख जिल्ला अधिकारी शङ्कर विष्टको संयोजकत्वमा सात सदस्यीय छानबिन समिति गठन गरिएको थियो । समितिले तीन दिनभित्र प्रतिवेदन बुझाउने गरी काम थालेको छ । आरोपीमाथि ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएपछि स्वास्थ्यकर्मीहरुले आन्दोलन स्थगित गरेका छन् ।
बिरामीको मृत्युपछि उनका कुरुवा र आफन्तले आइसियु कक्षमै प्रवेश गरी स्वास्थ्यकर्मीमाथि आक्रमण गरेको भेरी अस्पतालले जनाएको छ । स्वास्थ्यकर्मीले शौचालयको झ्यालबाट हाम फालेर ज्यान जोगाएको बताएका छन् । आक्रमणबाट ज्यान जोगाउन डा. चन्द्रप्रकाश साहु, नर्सहरू सदिक्षा गैरे, बन्दना श्रेष्ठ र आश्विनी गुरुङले पहिलो तलाबाट हाम फालेर भागेका थिए । मृतकका आफन्तले भने चिकित्सक र नर्सको लापरबाहीले बिरामीको मृत्यु भएको आरोप लगाएका छन् ।








प्रतिक्रिया राख्नुहोस्