तपाईँ सुन्दै हुनुहुन्छः

बढी मूल्यमा अक्सिमिटर बिक्री गर्ने व्यवसायीलाई जरिवाना

जनकपुरधाम । जनकपुरधाममा बढी मूल्य लिएर अक्सिमिटर बिक्री गर्ने कार्यमा संलग्न रहेका दुई जना व्यापारीलाई दण्डित गरेको छ । जिल्ला प्रशासन कार्यालयमा परेको उजुरीको आधारमा अनुगमन गरेर ती दुई व्यापारीलाई दण्डित गरिएको छ ।
जनकपुरधामको अस्पताल रोडमा रहेको अक्सिमिटर बिक्री गर्ने सरोज सर्जिकल र सप्लाई गर्ने गोमुख सप्लायर्सलाई दश दश हजारको दरले जरिवाना गरेको जिल्ला प्रशासन कार्यालय धनुषाले जनाएको छ ।
अनुगमन टोलीले बिक्री गर्ने सरोज सर्जिकल पसललाई र सप्लाई गर्ने गोमुख सप्लायरले पनि विल विजक देखाउन भन्दा नदेखाएपछि जरिवाना गरेको निरीक्षण अधिकारी एवं धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी दिपक कर्णले जानकारी दिनुभयो ।
उनीहरू माथि उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८ को उपदफा ३९ अनुसार प्रति फर्म १०–१० हजारको दरले जरिवाना गरेको र दुवै जनाले फर्मले रकम जम्मा गरेपछि सञ्चालकहरूलाई छोडिएको सहायक प्रमुख जिल्ला अधिकारी कर्णले जानकारी दिनुभयो ।
खास गरेर कोरोनाका बिरामी तथा अन्य स्वस्थ व्यक्तिले शरीरको अक्सिजनको मात्रा जाँच गर्नका लागि अक्सिमिटरको प्रयोग गर्ने गरेका छन् । मुलुकमा कोरोनाका कारणले सङ्कट रहेको बेलामा अक्सिमिटर सहितको कोरोनाका सङ्क्रमितको उपचारमा आवश्यक पर्ने स्वास्थ्य सामाग्रीहरूको मूल्य बढाएर बिक्री वितरण गर्ने गरेको गुनासो सर्वसाधारणबाट पटक पटक हुँदै आएको छ ।
अनुगमन टोलीमा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, जनकपुरधाम उद्योग वाणिज्य सङ्घ तथा नेपाल पत्रकार महासङ्घ सहितका निकायका अधिकारी एवं प्रतिनिधिहरू सहभागी रहेका थिए ।
यसै बिच जिल्ला प्रहरी कार्यालय धनुषाले जनकपुरधामको विनित सर्जिकल पसलका सञ्चालकलाई पक्राउ गरेको छ । १ हजार २ सय मूल्य पर्ने अक्सीमिटर ३ हजारमा बिक्री गरेको उजुरीको आधारमा पसलका सञ्चालक भूपनारायण साहलाई पक्राउ गरेको छ ।
पक्राउ परेका पसलका सञ्चालकसँग २८ थान अक्सिमिटर पनि बरामद गरिइएको छ । निज माथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button