पत्रकार महासङ्घ पर्वतको भवनमा ५ शय्याको आइसोलेसन कक्ष निर्माण

पर्वत । नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा पर्वतले आफ्नो कार्यालय रहेको भवनमा ५ शैयाको आइसोलेसन कक्ष निर्माण गरेको छ ।
कोरोना सङ्क्रमणको दर उच्च हुँदै जाँदा अस्पतालमा शय्याको अभाव हुने अवस्थामा उक्त शय्या प्रयोग गर्न मिल्ने गरी आइसोलेसन कक्षको निर्माण गरिएको पत्रकार महासङ्घ पर्वतका अध्यक्ष सन्तोष थापाले जानकारी दिनुभयो ।
थापाका अनुसार महासङ्घको कार्यालय रहेको कुश्मा–५ बडा गाउँमा उक्त आइसोलेसन कक्षको निर्माण गरिएको हो । उक्त शय्यामा पहिलो प्राथमिकतामा पत्रकारहरू रहनेछन् । संक्रमण पुष्टि भएर आइसोलेसन कक्षमा बस्नुपर्ने पत्रकारले अस्पतालमा बेड नपाएको खण्डमा उक्त कक्षमा राखिने गरी तयारी अवस्था राखिएको अध्यक्ष थापाको बताउनुभयो । आइसोलेसन कक्षमा आवश्यक पर्ने अक्सिजन सहितका अन्य उपकरणको लागि भने स्वास्थ्य कार्यालय र पर्वत अस्पताल तथा स्थानीय पालिकाहरूसँग समन्वय गरेको अध्यक्ष थापाले जानकारी दिनुभयो ।
दे भर बिरामीको सङ्ख्या बढ्दै जाँदा अस्पतालहरुमा बेडको अभाव हुन थालेको छ । पर्वत जिल्लामा भने क्रियाशील सबै पत्रकारहरू खोप लगाइसकेका छन् । खोप लगाएकाहरूमा पनि संक्रमण देखिन सक्ने भएकाले सबै पत्रकारहरू सचेत भएर कार्यक्षेत्रमा खट्न अध्यक्ष थापाले आग्रह समेत गर्नुभएको छ ।








प्रतिक्रिया राख्नुहोस्