पर्सामा वैशाख ३० गते सम्म निषेधाज्ञा थप

वीरगंज । पर्सामा वैशाख १६ गतेबाट २२ गते सम्म स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञाको अवधिलाई लम्ब्याएर वैशाख ३० गते सम्म पुर्याइएको छ ।
जिल्ला प्रशासन कार्यालय पर्साले कोरोना संक्रमण बढ्दै गएपछि गत वैशाख १६ गते देखि २२ गते सम्म जारी गरिएको निषेधाज्ञालाई थप गरी ३० गते सम्म पुर्याइएको पर्साका प्रमुख जिल्ला अधिकारी पीताम्बर घिमिरेले बताउनुभयो ।
जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र पर्साको आज जिल्ला प्रशासन कार्यालय पर्सामा सम्पन्न बैठकले निषेधाज्ञा जारी गर्न पर्साका प्रमुख जिल्ला अधिकारीलाई सिफारिस गरेपछि सोही आधारमा सङ्क्रामक रोग ऐन, २०२० को दफा २ र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को ३ अनुरूप वैशाख ३० गते राति १२ बजे सम्म लागु हुने गरी जिल्लामा निषेधाज्ञा लम्ब्याइएको प्रमुख जिल्ला अधिकारी घिमिरेले बताउनुभयो ।
जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र पर्साको सम्पन्न बैठकले हाल जिल्लाको कोभिड–१९ को सङ्क्रमणको अवस्था नियन्त्रण, रोकथाम र उपचारका सम्बन्धमा भए÷गरेका कामको समीक्षा गर्दै यस सम्बन्धमा नेपाल सरकार, प्रदेश सरकारका निर्णय र निर्देशनहरू डिसिसिएमसी एवं स्थानीय तह र सम्बद्ध निकायहरुबीचको आपसी समन्वयमा प्रभावकारी रुपमा कार्यान्वयन गर्ने निर्णय गरेको छ ।
त्यसै गरी बैठकले पर्सामा सञ्चालित अक्सिजन उत्पादन गर्ने उद्योगहरूलाई पूर्ण क्षमतामा सञ्चालन गर्ने, अक्सिजनलाई स्वास्थ्य क्षेत्र बाहेक अन्य क्षेत्रमा आपूर्ति नगर्ने, अक्सिजन उद्योगहरूबाट हुने उत्पादन, भण्डारण र बिक्री वितरणको दैनिक अनुगमन एवं प्रतिवेदन पेश गर्ने व्यवस्था जिल्ला प्रशासन कार्यालयले मिलाउने निर्णय गरेको छ ।
बैठकले कोभिड–१९ को संक्रमित बिरामीको उपचार गर्न वीरगंज महानगरपालिकाद्वारा वीरगंज महानगरपालिका भित्र उपयुक्त स्थानमा १०० बेड क्षमताको कोभिड–१९ अस्थायी विशेष अस्पताल यथाशीघ्र सञ्चालनमा ल्याई उपचार सेवा शुरु गर्ने, त्यसै गरी तत्कालै १०० बेड क्षमताको आइसोलेसन सेन्टर स्थापना गरी सञ्चालनमा ल्याउने निर्णय गरेको छ ।
बैठकले कोभिड–१९ को परीक्षण गर्ने कार्यलाई सहज बनाउन वीरगंज महानगरपालिकाले उपयुक्त स्थानमा स्वाब सङ्कलन केन्द्र स्थापना गरी स्वाब सङ्कलन गर्ने र सङ्कलित स्वाबको परीक्षण नारायणी उपक्षेत्रीय अस्पतालमा गर्ने व्यवस्था मिलाउने निर्णय समेत गरेको प्रमुख जिल्ला अधिकारी घिमिरेले बताउनुभयो ।
बैठकमा वीरगंज महानगरपालिका प्रमुख विजय सरावर्गी, नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट संजय कुमार ठाकुर, नेपाली सेनाको चण्डी प्रसाद गण वीरगंजका प्रमुख सेनानी मदनजंग राणा, पर्साका प्रहरी उपरीक्षक बेल बहादुर पाण्डे, सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खड्का, राष्ट्रिय अनुसन्धानका प्रमुख अधिकृत रामबाबु चौधरी, जिल्ला जनस्वास्थ्यका वरिष्ठ जनस्वास्थ्य अधिकृत कामेश्वर चौरसिया, पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुव गिरी, भिमकान्त पौडेल सहित नारायणी अस्पताल विकास समिति का अध्यक्ष पुरेन्द्र लाभ, वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष सुवोध गुप्ता लगायतको उपस्थिति रहेको थियो ।








प्रतिक्रिया राख्नुहोस्