कञ्चनपुरमा निषेधाज्ञाको समय थप गरी वैशाख मसान्तसम्म कायम

कञ्चनपुर । विश्वभर फैलिँदै गइरहेको नयाँ भेरियन्ट सहितको कोभिड–१९ को सङ्क्रमण रोकथाम तथा न्यूनीकरणका लागि कञ्चनपुर जिल्लामा यही वैशाख १६ गतेदेखि २२ गतेसम्म जारी गरिएको निषेधाज्ञाको समय थप गरी वैशाख मसान्तसम्म कायम गरिएको छ ।
जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकबाट भएको निर्णय अनुसार यही वैशाख ३१ गतेसम्म निषेधाज्ञाको समय थप गरिएको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी राम कुमार महतोले जानकारी दिनुभयो । कञ्चनपुर जिल्लामा कोभिड १९ को सङ्क्रमण भयावह रूपले बढिरहेको अवस्थालाई मध्यनजर गरी निषेधाज्ञालाई विगतभन्दा थप कडा पारिएको छ ।
प्रमुख जिल्ला अधिकारी महतोका अनुसार स्वास्थ्य सेवा, दूध डेरी तथा पेट्रोलियम पदार्थ सम्बन्धी पसल व्यवसाय साबिकको जस्तै र तरकारी, फलफूल तथा खाद्य वस्तुका पसल व्यवसाय हरेक आइतबार, मङ्गलवार र बिहीबार बिहान ६ देखि ९ बजेसम्म मात्रै सञ्चालन गर्न पाइने छ भने यी बाहेकका अन्य कुनै पनि पसल व्यवसाय सञ्चालन गर्न पाइने छैन । राजश्व दाखिला र सरकारी कारोबार बाहेक यसअघि सञ्चालन भइरहेका बैङ्क तथा वित्तीय संस्थाहरूको सबै सेवा बन्द गर्न आदेश दिइएको छ ।
यद्यपि अत्यावश्यक भुक्तानीका लागि भने एटिएम सेवा सञ्चालनमा रहने छन् । यसअघि वितरण गरिएका पासहरू मध्ये सञ्चारकर्मीहरूका बाहेक अन्य सबै पासहरू रद्द गरिएको छ । मालसामान ढुवानीका साधन बाहेक अन्य सार्वजनिक तथा निजी सवारी साधन सञ्चालन गर्न नपाइने प्रमुख जिल्ला अधिकारीबाट जारी आदेशमा उल्लेख छ ।
कुनै पनि सभा, सम्मेलन, गोष्ठी, सेमिनार लगायत भिडभाड हुने ठाउँ सबै बन्द गरिएको छ भने अत्यावश्यक बाहेकका अन्य सार्वजनिक सेवा समेत हाललाई स्थगन गरिएको हुँदा अत्यावश्यक कामकाज बाहेक घरबाहिर निस्कन र हिँडडुल गर्न पाइने छैन । विवाह तथा व्रतबन्धको लागि अनुमति तथा पास जारी गर्ने कार्य सम्बन्धित क वर्गको इलाका प्रहरी कार्यालयले बढीमा १५ जनासम्म सहभागी भई जनस्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना हुने गरी गर्ने आदेश दिइएको प्रमुख जिल्ला अधिकारी महतोले जानकारी दिनुभएको छ ।
प्रमुख जिल्ला अधिकारीबाट जारी भएको आदेशको पूर्ण पालना गर्न गराउन हुन सबैलाई अनुरोध गरिएको छ । आदेशको उल्लङ्घन गर्ने वा आदेशको पालना गर्ने गराउने कार्यमा अवरोध गर्ने उपर प्रचलित कानुन बमोजिम कारबाही हुने बताइएको छ ।









प्रतिक्रिया राख्नुहोस्