तपाईँ सुन्दै हुनुहुन्छः

वीरगंजमा २ सङ्क्रमितको मृत्यु, थप ११५ जनामा कोरोना संक्रमण पुष्टि

वीरगंज । वीरगञ्जमा उपचाररत थप २ जना कोरोना सङ्क्रमितको आज मृत्यु भएको छ ।  वीरगंजस्थित नारायणी अस्पतालमा उपचाररत २६ वर्षीय युवकको कोरोना सङ्क्रमणका कारण आज बिहान साढे ११ बजे मृत्यु भएको छ ।
वीरगंज महानगरपालिका वडा नम्बर १६ निवासी २६ वर्षीय युवकलाई स्वास्थ्यमा समस्या भएपछि गत वैशाख १६ गते अस्पताल भर्ना भएका थिए । युवकको सोही दिन एन्टीजेन प्रविधिबाट कोभिड परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो । उनमा गम्भीर किसिमको निमोनिया देखिएको र निमोनियाका कारण दुवै फोक्सोमा समस्या भएपछि श्वासप्रश्वासमा अवरोध हुँदा युवकको मृत्यु भएको नारायणी अस्पतालका कोभिड संयोजक डाक्टर सरोज रोशन दासले जानकारी दिनुभयो ।
युवकलाई अस्पतालको आइसियु वार्डमा विगत ३ दिनदेखि भेन्टिलेटर सपोर्टमा राखेर उपचार गर्दागर्दै आज दिउसो मृत्यु भएको डाक्टर दासले बताउनुभयो ।
यसै गरी नारायणी अस्पतालमा अहिले कोरोना संक्रमित ५ जना पुरुष ३ जना महिला गरी ८ जनाको आइसियुमा र कोभिड वार्डमा ६७ पुरुष र १८ महिला गरी ९३ जनाको उपचार भइरहेको छ ।
त्यसै गरी आज बिहान वीरगञ्जस्थित नेशनल मेडिकल कलेज शिक्षण अस्पतालद्वारा सञ्चालित होटल बाबा ईन्टरनेशनल अस्थायी कोभिड अस्पतालमा उपचाररत एक कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।
पर्सागढी नगरपालिका वडा नम्बर ९ का ३४ वर्षीय पुरुषको आज बिहान साढे ७ बजे उपचारको क्रममा मृत्यु भएको  जिल्ला प्रशासन कार्यालय पर्साका कोभिड सम्पर्क व्यक्ति विनय कुमार श्रीवास्तवले जानकारी दिनुभयो ।
वैशाख ७ गते कोरोना संक्रमण पुष्टि भएका उनलाई वैशाख १८ गते अस्पतालमा भर्ना गरिएको थियो । उनको उपचारकै क्रममा मृत्यु भएको श्रीवास्तवले जानकारी दिनुभयो ।
यसैबिच वीरगंजस्थित नारायणी अस्पतालमा गरिएको पछिल्लो पिसीआर परीक्षणको क्रममा आज बिहान थप १ सय १५ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।
१ सय ९२ जनाको पिसीआर परीक्षण गरिएकोमा १ सय १५ जनामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका कोभिड संयोजक डाक्टर सरोज रोशन दासले जानकारी दिनुभयो । संक्रमण पुष्टि हुनेमा ८४ जना पुरुष र ३१ जना महिला रहेका छन् ।
संक्रमित मध्ये ८७ जना पर्सा जिल्लाको रहेका छन् भने बाराका २४ जना, रौतहटका ४ जनामा  कोरोना संक्रमण पुष्टि भएको डाक्टर दासले बताउनुभयो ।
सङ्क्रमितको उमेर समूह ५ बर्ष देखी ८० बर्ष सम्म रहेको र सङ्क्रमितको सिटी भ्यालु १७ देखी ३५ दशमलव ६ सम्म रहेको नारायणी अस्पतालका कोभिड संयोजक डाक्टर दासले जानकारी दिनुभयो ।
वैशाख यता वीरगंजमा कोरोना सङ्क्रमणको कारण ३२ जनाको ज्यान गएको छ । त्यसै गरी नारायणी अस्पतालको प्रयोगशालामा चैत २७ गते देखि यता गरिएको ३ हजार ४ सय ४० जनाको पिसिआर परीक्षणको क्रममा २ हजार २३ जनामा कोरोना संक्रमण पुष्टि भएको पर्साका प्रमुख जिल्ला अधिकारी पीताम्बर घिमिरेले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button