सफा हिमाल अभियानः दुई शव र हेलिकोप्टरको अवशेष फेला
काठमाडौँ । हिमाल सफा गर्ने क्रममा दुई वटा शव र हेलिकोप्टरको अवशेष फेला परेको छ । सफा हिमाल अभियान अन्तर्गत बुधवार धवलागिरि आधार शिविर देखि २०० मिटर दक्षिणतर्फ हिमाल आरोहणका लागि प्रयोग हुने उपकरणसहित २ मानव अवशेष फेला परेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
सोही आधार शिविरबाट १ किमीको दुरीमा रहेको इटाली आधार शिविर नजिक नाइनएन– एसीआर लेखेको हेलिकप्टरको टुक्रा समेत फेला परेको जानकारी दिइएको छ ।
मृतकको पहिचान नखुलेकाले छानबिन भइरहेको तथा हेलिकोप्टर भने एयर डायनेष्टिकको सन् २००६ मा दुर्घटना भएको अवशेष रहेको प्रारम्भिक जानकारी प्राप्त भएको सेनाले बताएको छ ।
ती मानव अवशेष व्यवस्थापन सम्बन्धमा सम्बन्धित निकायसँग समन्वयको प्रक्रिया समेत शुरु गरिएको जानकारी दिइएको छ ।
सगरमाथासहित ६ वटा हिमाल सफाइ गर्ने उद्देश्यका साथ सञ्चालित उक्त अभियानमा खटिएका टोलीले स्थानीय सरकार, सम्बद्ध सङ्घसंस्था एवं स्थानीयवासिहरुसँग आवश्यक समन्वय तथा सहकार्य गरी फोहोर सङ्कलन गरिरहेको छ ।
यही वैशाख १२ गतेबाट शुरू गरिएकामा शुक्रवारसम्म आइपुग्दा सड्ने/कुहिने ३५५ के.जी. र नसड्ने ४ हजार ७९९ के.जी. फोहोर सङ्कलन भएको सेनाले जानकारी दिएको छ ।








प्रतिक्रिया राख्नुहोस्