पर्वतमा निषेधाज्ञाको तयारी
पर्वत । पर्वत जिल्लामा कोरोना संक्रमण बढ्दै गएपछि सदरमुकाम कुश्मा बजारमा निषेधाज्ञा जारी गर्ने निर्णय भएको छ ।
कुश्मा नगरपालिकाको अनुरोधमा जिल्ला प्रशासन कार्यालय पर्वतले सदरमुकाम कुश्मा बजारमा निषेधाज्ञा जारी गर्न लागेको हो । प्रमुख जिल्ला अधिकारी देवी पाण्डेका अनुसार आज बसेको डिसिसीएमसीको बैठकले आगामी आइतबार देखि सदरमुकाममा एक हप्ते निषेधाज्ञा जारी गर्न लागेको हो ।
जिल्ला प्रशासन कार्यालयका अनुसार १८ गते राती १२ बजे देखि एक हप्ता सदरमुकाम कुश्मा बजार भित्र सवारी साधन बन्द हुनेछन् भने अत्यावश्यक बाहेकका पसलहरू पनि बन्द हुनेछन् । अत्यावश्यक बाहेक कोही पनि घरबाट बाहिर ननिस्कन समेत प्रशासन कार्यालयले सर्वसाधारणलाई आग्रह गरेको छ । अत्यावश्यक सेवा अन्तर्गतका पसलहरू पनि बिहान र साँझको समयमा मात्र खुल्ला गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी पाण्डेको भनाई छ ।
पर्वतको कुश्मा नगरपालिका वडा नम्बर ४, ५, ६ र ७ मा कोरोना संक्रमण उच्च गतिमा बढेको छ । कुश्मा बजारको भित्री सडकमा यातायात बन्द हुने भए पनि मध्य पहाडी लोकमार्गमा पूर्व पश्चिम सञ्चालन हुने सवारी साधन भने नरोकिने प्रमुख जिल्ला अधिकारी पाण्डेले बताउनुभयो । यस्तै एम्बुलेन्स, दमकल, दुध, फलफुल, मासु, औषधी, तरकारी बोकेका सवारीसाधनलाई पनि रोक नलगाइने भएको छ ।








प्रतिक्रिया राख्नुहोस्