सदरमुकाम बचाउन तटबन्धन निर्माण गरिँदै

बझाङ । सेती र बाहुली खोलाको बाढीले बगाउन सक्ने उच्च जोखिममा रहेको बझाङ सदरमुकाम चैनपुरको वरिपरि गठबन्धन हुदैछ । सेती र बाहुली खोलाको किनार वरिपरि आरसिसी सिमेन्टको पक्की पर्खाल बनाउन थालिएपछि अब सदरमुकाम खोलाको बाढीले बगाउन नसक्नेमा स्थानीय विश्वस्त हुँदै गएका छन् ।
जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालय बैतडीले २०७३ सालतिर सदरमुकाम चैनपुर बचाउनका लागि डिपिआर तयार गरेर ७५ करोड २८ लाख १५ हजारको खर्च लागत अनुमान गरेको थियो । जल उत्पन्न कार्यालय वाट सुरुका वर्षमा सदरमुकाम बचाउनका लागि तटबन्धनको ठेक्का गरेर काम सुुरुवात गरेको थियो । अहिले उक्त कामलाई निरन्तरता दिन विभागले महाकाली नदी नियन्त्रण आयोजना दार्चुलालाई जिम्मा दिएर बहुवर्षिय ठेक्कामा काम भई रहेको छ ।
२०७६ सालबाट कामको जिम्मा पाएको महाकाली नदी नियन्त्रण आयोजनाले विभिन्न स्थानको प्याकेजमा ठेक्का गराएर अहिले बाहुली खोला तर्फको तटबन्धनको काम अन्तिम चरणमा पुर्याएको छ । सेती बाहुली खोलाको दोभानदेखि माथि पक्की पुल सम्म चैनपुर तर्फ विभिन्न चरणमा निर्माण गरिएको करिब १५ सय मिटर जति पर्खाल र्निमाणको काम अव अन्तिम चरणमा पुगेको साइड इन्जिनियर मान प्रसाद जोशीले बताउनुभयो । उनका अनुसार बाहुली खोला तर्फको तठबन्दन सकिन थालेको छ भने सेती नदी तर्फ २ सय ४० मिटर पर्खाल निर्माण भई सकेको र बाँकी काम सुरु हुन थालेको बताए । उनले सेती नदीतर्फ डेढ किलो मिटर जति तठबन्दन पर्खाल बनाउन अझै बाँकी भएकाले ठेक्कालाई निरन्तरता दिनु जरुरी भएको पनि जोड दिए ।
चैनपुर वरिपरि तटबन्धनको काम हेर्दा अहिले ४० प्रतिशत काम भएको बताएको छ । सेतीतर्फ जागृति निर्माण सेवा र बाहुली खोला तर्फ केएस मित्र जेभी साथै एमके कन्ट्रक्सनले काम गराइरहेको छ । चार पाँच वर्ष देखी अहिले सम्मको ठेक्कामा गएको खर्च हेर्दा ३० करोड जत्तिको ठेक्का भई सकेको बताइएको छ ।
दुई तीन वर्ष भित्र बाँकी काम सकिएर चैनपुर वरिपरिको तटबन्धनमा स्टिल वार लगाइने, वृक्षारोपण गरी वरिपरि रिङ्रोड बनाएर पर्यटकीय स्थलका रुपमा चैनपुर बजारलाई विकास गरिने योजना रहेको जयपृथ्वी नगरपालिका चैनपुरका वडा अध्यक्ष दल बहादुर विष्टले जानकारी दिनुभयो । उनले यसको निर्माण कार्यको कामलाई गुणस्तर र बलियो बनाउन सम्बन्धित सबै सरोकारवालाले ध्यान दिनु पर्ने जोड दिए ।








प्रतिक्रिया राख्नुहोस्