तपाईँ सुन्दै हुनुहुन्छः

माथिल्लो तामाकोसीको डिसेण्डर बेसिनमा पानी भर्न शुरु

दोलखा । स्वदेशी लगानीमा निर्माणाधिन बहुचर्चित ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको डिसेण्डर बेसिन (बालुवा थिग्रयाउने पोखरी)मा पानी भर्न शुरु भएको छ ।

सुरुङमार्गको परीक्षणका लागि बिहीबार पुर्वनिर्धारित कार्यक्रम अनुसार डिसेण्डर बेसिनमा पानी भर्न सुरु गरिएको हो । बिहीबार मध्यान्ह १२ बजे नेपाल सरकारका २ मन्त्रीसहित उच्चस्तरिय टोलीको उपस्थितिमा पोखरीको ढोका खुल्ला गरि पानी भर्न शुरु गरिएको छ ।

बेसीनमा पानी भर्न र आयोजनाको अनुगमन गर्न भन्दै नेपाल सरकारका भौतिक योजना तथा यातायात मन्त्री बसन्त नेम्वाङ र सुचना तथा सञ्चार प्रविधि मन्त्री पार्बत गुरुङ सहितको सरकारी टोली बिहीबार लामाबगर पुगेको थियो । दुई जना मन्त्रीद्धारा संयुक्त रुपमा बेसीनमा पानी पठाउने कामको सुरुवात भएको छ ।

सो अवसरमा सञ्चार तथा सुचना प्रविधि मन्त्री पार्वत गुरुङले जेठ १३ देखी १५ गतेभित्र आयोजनाको एउटा विद्युतगृहबाट विजुली उत्पादन गरी औपचारीक शुभारम्भ गर्ने लक्ष्यका साथ काम गर्न निर्देशन दिनु भयो । आयोजना निर्माणमा निक्कै ढिलाई भएको उल्लेख गर्नुहुदै मन्त्री गुरुङले अब कोरोना, प्राविधिक समस्या या अरु कुनै पनि बहानामा काममा ढिलाई गरिए त्यो सह्य नहुने समेत बताउनु भयो ।

भौतिक पुर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले पनि जेठ १५ गतेभित्र कुनै पनि हालतमा एउटा विद्युत गृहबाट विजुली उत्पादन हुनुपर्ने उल्लेख गर्नुहुदै अब कुनै पनि बहानामा ढिलाई गरिन नहुने बताउनु भयो । मन्त्री नेम्वाङले लामाबगरबाट चिनको तिब्बत जोड्ने सडकको लागि सुरुङ मार्ग निर्माण गर्न आगामी बजेटमै व्यवस्था गरी काम सुरु गरिने समेत बताउनु भयो ।

आयोजनाबाट विद्युत उत्पादनको लागि सुरुमा इन्टेक कल्र्भट र बालुवा थिग्राउने पोखरीमा पानी भरिने आयोजना प्रमुख विज्ञान श्रेष्ठले बताउनु भयो । त्यसपछि चरणवद्ध ढङ्गले पेनस्टक र सुरुङमा पानी भरिने आयोजना प्रमुख श्रेष्ठले बताउनु भयो ।

सरकारी टोलीमा उर्जा सचिब देबेन्द्र कार्की, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेब शाक्य लगाएतको टोली हेलिकप्टरको प्रयोग गरि आयोजनास्थल पुगेको थियो । बेसीनमा पानी भरिन झण्डै एक साता लाग्ने त्यसपछि क्रमश बेसिनको पानी मुख्य सुरुङ मार्गमा पठाउने तयारी भएको माथिल्लो तामाकोसी आयोजनाले जनाएको छ ।

बेसिन भरिएपछि पेनस्टक र मुख्य सुरुङको परीक्षण हुने र त्यसपछि क्रमश आयोजनाको भुमिगत विद्युत गृहमा रहेका ६ वटा टर्वाइन र जेनेरेटरको परीक्षण गरिने विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेब शाक्यले बताउनुभयो । उहाँका अनुसार यि सबै परीक्षणहरु सम्पन्न गर्न झण्डै १ महिना समय लाग्नेछ ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button