तपाईँ सुन्दै हुनुहुन्छः

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला बारे उपप्रधानमन्त्री पोखरेलको चासो

काठमाडौँ । उपप्रधानमन्त्री ईश्वर पोखरेलले चितवनमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाका विषयमा चासो लिनुभएको छ ।
क्रिकेट रङ्गशाला निर्माणका प्रमुख अभियन्ता एवं धुर्मुस–सुन्तली फाउन्डेसनका अध्यक्ष सिताराम कट्टेल ‘धुर्मुस’लाई आज सिंहदरबारस्थित आफ्नै कक्षमा भेट्दै उपप्रधानमन्त्री पोखरेलले अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणमा भइरहेका प्रगति र सरकारले गर्न सक्ने सहयोगका विषयका छलफल गर्नुभएको हो ।
उपप्रधानमन्त्री पोखरेलले प्रेरणादायी, प्रशंसनीय कार्य गरेको भन्दै धुर्मुस–सुन्तली फाउन्डेसनको प्रशंसा गर्नुभयो । ‘अनुकरणीय काम गर्नुभएको छ, जुन सपना देख्नुभयो, त्यसमा चुनौती पनि आउँछन्, तर दृढतापूर्वक लाग्नुपर्छ, सबै उठेका प्रश्नको जवाफ कामले दिनुपर्छ’ – उहाँले भन्नुभयो ।
उपप्रधानमन्त्री पोखरेलले राज्यका तर्फबाट रङ्गशालालाई सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउँदै प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि यसबारे छलफल गर्ने बताउनुभयो ।
उपप्रधानमन्त्रीले भेट्न बोलाएर रङ्गशालाको बारेमा चासो लिएपछि धुर्मुस निकै भावुक बन्नुभएको थियो । आफु राज्यलाई सघाउने अभियन्ता भएको भन्दै धुर्मुसले टुहुरो जस्तो भएको बेला आफैले बोलाएर चासो लिनुभएकोमा उपप्रधानमन्त्रीलाई धन्यवाद दिनुभयो । ‘बल्ल सरकार छ, राज्य छ भन्ने महसुस भयो, नत्र साँच्चिकै टुहुरो महसुस भएको थियो । हामी निकै पीडा भोग्यौँ, धेरै पटक बुढाबुढी रोएका छौँ’– उहाँले उपप्रधानमन्त्री पोखरेललाई भन्नुभयो ।
अहिलेसम्म विभिन्न क्षेत्र र दाताबाट ३३ करोड सङ्कलन भएकोमा ४६ करोड भन्दा बढी खर्च भइसकेकाले १३ करोड ऋण रहेको जानकारी दिनुभयो । रकमको जोहो भए ६ महिनादेखि एक बर्षसम्ममा अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला तयार हुने उहाँले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button