तपाईँ सुन्दै हुनुहुन्छः

रुपन्देहीमा  निषेधाज्ञालाई कडाइ

रुपन्देही । रुपन्देहीमा सक्रिय संक्रमित दुई हजार नाघेपछि आजदेखि रुपन्देहीमा जारी गरिएको निषेधाज्ञालाई कडाइ गरिएको छ । कोरोना सङ्क्रमणको दोस्रो लहरलाई रोक्न १५ दिनसम्मका लागि जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जिल्लाभर निषेधाज्ञालाई कडाइ गरेको छ ।
अत्यावश्यक कामबाहेक अन्य कुनै पनि प्रयोजनका लागि हिँडडुल गर्न नपाइने गरी जारी गरिएको निषेधाज्ञाको पहिलो दिन आज बिहानैबाट मुख्य शहर बुटवल, भैरहवा, मुर्गिया, देवदह, तिलोत्तमालगायतका क्षेत्र सुनसान बनेका छन् ।
मानिसहरूको आवतजावत र जमघट हुन नदिन सहरका मुख्य सडकमा सुरक्षाकर्मीको उपस्थिति बाक्लो छ । सधैंजसो बिहानैदेखि मजदुरी गर्न हिँड्ने मानिस र सडकमा व्यापार गर्नेहरू पनि बाटोमा देखिएका छैनन् ।
बुटवलमा हाटबजारमा निषेधाज्ञाको अवज्ञा गर्दै खुलेका केही कपडा पसलहरू बुटवल उपमहानगरपालिकाको नगर प्रहरीले बन्द गराएको छ । मिलनचोक र बसपार्कमा खुलेका केही पसलहरू पनि सुरक्षाकर्मीले बन्द गराएका छन् ।
बुटवलको बसपार्क पछाडि देखिएको मानिसहरूको चहलपहललाई रोक्न खोजिरहेका प्रहरीले ई–रिक्सा, रिक्सा र सामान्य हिँडडुल समेत रोक्न आफूहरूलाई निर्देशन आएको बताए ।
सुरक्षाकर्मीका प्रयासका बाबजुद बुटवलका भित्री सडकमा भने केही ई–रिक्सा तथा रिक्साहरू यात्रु बोकेर हिँडिरहेका छन् । ती बाहेक दूध, तरकारी तथा औषधी पसलहरू सञ्चालन भइरहेका छन् ।  परिचय पत्र बोकेका अत्यावश्यक कामदारलाई भने आवतजावतमा रोकिएको छैन ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button