तपाईँ सुन्दै हुनुहुन्छः

कर्णालीमा कोरोना रोकथाम र उपचारका लागि १ अर्ब बजेट

जुम्ला । कर्णाली प्रदेश सरकारले कोरोना संक्रमण रोकथाम नियन्त्रण तथा उपचारका लागि १ अर्ब बराबरको बजेट व्यवस्थापन गरेको छ । विश्व महामारीका रुपमा फैलिएको दोस्रो लहरको कोरोना संक्रमण रोकथाम तथा उपचारका लागि कर्णाली सरकारले एक अर्ब बजेट छुट्टाएको हो ।
कोरोना रोकथामका लागि छुटाइएको एक अर्ब बजेट मध्य विकास खर्च रकमान्तर गरेर तत्काल ५० करोड रकम विकास खर्चबाट रकमान्तर गरी कोभिड कोषमा राख्ने व्यवस्था मिलाइएको कर्णाली सरकारका प्रवक्ता मन्त्री विमला केसीले जानकारी दिनुभयो  । उहाँका अनुसार विगतको जस्तो बजेट बाँड्ने भन्दा आवश्यकताका आधारमा मात्रै १० वटै जिल्लामा बजेट पठाइने छ ।
तत्काल कोरोना महामारी नियन्त्रण तथा स्वास्थ्य पूर्वाधार सुदृढीकरणका लागि प्रदेश अस्पताल सुर्खेतलाई २२ करोड रुपैयाँ बजेट दिएको छ । चौरजहारी सामुदायिक अस्पताल, जिल्ला अस्पतालहरू र रणनैतिक अस्पताललाई १२ करोड रुपैयाँ बजेट निकासा गरी पठाएको समेत मन्त्री केसीले उल्लेख गर्नुभयो । साथै,कर्णाली प्रदेशमा भित्रिने ४ वटा नाकाहरूमा थप स्वास्थ्यकर्मी सहित एन्टिजेन परीक्षण र स्क्रिनिङको व्यवस्था समेत मजबुत रुपमा मिलाएको उहाँको भनाई छ ।
गत वर्ष दोस्रो लहरको कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि करिब १ अर्ब बराबरकै कोभिड कोष खडा गरेको कर्णाली सरकारले शत प्रतिशत बजेट खर्च गर्न सकेको थिएन । औषधी, उपकरण अभाव कायमै रहेको र जोखिम भत्ता समेत स्वास्थ्यकर्मीले हाल सम्म नपाएको अवस्थामा विगतजस्तै कोष खडा गर्ने बजेट खर्च गर्न कन्जुसाई गर्ने प्रवृत्ति अन्त्य गरी बजेट खर्च प्रभावकारी गर्नुपर्ने सरोकारवालाले बताएका छन् ।
कर्णाली प्रदेशका १० वटै जिल्लामा सहज उपचार, पीसीआर जाँच, नाकामा कडा चेकजाँच तथा गुणस्तरीय, क्वारेन्टीन तथा आइसोलेसनको व्यवस्थापन गर्न समेत नागरिक अगुवाले कर्णाली सरकारको ध्यानाकर्षण गराएका छन् ।
स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै कर्णाली प्रदेशमा विकास निर्माण देखि सरकारी कार्यालयका कामकाजलाई अघि बढाउन आवश्यक रणनीति बनाएर अघि बढ्ने तयारीमा कर्णाली सरकार रहेको छ ।
विगतको जस्तो बजेट फ्रिज जाने संस्कारको अन्त्य गर्दै १० वटै जिल्लामा कोभिड रोकथामका लागि आवश्यकताका आधारमा बजेट खर्च गर्न सरकार तयार रहेको कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले बताउनुभयो ।
कोभिड रोकथाम नियन्त्रणलाई प्रभावकारी बनाउने प्रयास अन्तर्गत कर्णालीका १० जिल्ला  मध्य सुगममा एम्बुलेन्स र दुर्गममा हवाई सेवा तयारी अवस्थामा राखिएको समेत मन्त्री भण्डारीको भनाई छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button