तपाईँ सुन्दै हुनुहुन्छः

कञ्चनपुर जिल्लामा पनि लकडाउन

कञ्चनपुर । कञ्चनपुर जिल्लामा बिहीबार बिहान देखि लकडाउन जारी गरिएको गरिएको छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले यही वैशाख २२ गतेसम्म एक हप्ता कञ्चनपुर जिल्ला लकडाउन गर्ने निर्णय र जारी भएको आदेश अनुसार भइरहेको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले बताउनुभयो ।
औषधी तथा स्वास्थ्य सामग्री सम्बन्धी पसल व्यवसाय, बैङ्क, वित्तीय संस्था तथा अत्यावश्यकीय बस्तु तथा सेवाहरू साबिकको समय जस्तै र तरकारी, फलफूल तथा खाद्य पसल व्यवसायहरू बिहान ६ बजेदेखि ९ बजेसम्म जनस्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर सञ्चालन भइरहेका छन् । यी बाहेक अन्य सबै पसल व्यवसाय बन्द रहेका छन् ।
त्यस्तै, कुनै पनि सभा, सम्मेलन, गोष्ठी, सेमिनार लगायत भिडभाड हुने ठाउँ सबै बन्द गरिएको छ भने अत्यावश्यक बाहेकका अन्य सार्वजनिक सेवा हाललाई स्थगन गरिएको हुँदा अत्यावश्यक कामकाज बाहेक घरबाहिर हिँडडुल नगर्न समेत प्रशासनले आदेश जारी गरेको छ । लकडाउनको सुरुवाती चरण भएकोले प्रशासनको आदेश अटेरी गर्ने केही व्यक्तिहरूलाई सुरक्षाकर्मीहरुले सम्झाई बुझाई गरेका छन् ।
गन्तव्यतर्फ जाने यात्रुहरूको चाप भने बढेको छ । यात्रुहरूको गन्तव्य प्रस्थान यात्राको उचित व्यवस्थापनका लागि आवश्यक समन्वय भइरहेको प्रशासनले जनाएको छ । सीमा क्षेत्रबाट भित्रिने नागरिकहरूका लागि होर्डिङ सेन्टर समेत तयार भइरहेको छ ।
त्यस्तै, विवाह वा व्रतबन्धको हकमा बढीमा १५ जनाको मात्रै सहभागिता गराएर पूर्वस्वीकृति लिई स्वास्थ्यका सम्पूर्ण मापदण्ड पालना गरेर सञ्चालन गर्न सकिने बताइएको छ । विश्वभर फैलिँदै गइरहेको नयाँ भेरियन्ट सहितको कोभिड १९ को संक्रमण कञ्चनपुरमा समेत उच्च दरमा फैलिएकोले सोको रोकथाम तथा नियन्त्रणको लागि नेपाल सरकारबाट जारी भएको आदेश र प्रमुख जिल्ला अधिकारीबाट जारी भएको आदेशको पूर्ण पालना गर्न गराउन हुन सबैलाई अनुरोध गरिएको छ । आदेशको उल्लङ्घन गर्ने वा आदेशको पालना गर्ने गराउने कार्यमा अवरोध गर्ने उपर प्रचलित कानुन बमोजिम कारबाही हुने बताइएको छ ।
भारतबाट आउने नागरिकहरूको सीमा क्षेत्र गड्डाचौकी र गौरीफन्टामा बाक्लो घुइँचो रहेको छ । त्यस्तै, अन्य अवैध खुला नाकाहरूबाट आवागमन रोक्न नसक्दा थप चुनौती र अत्यधिक जोखिम बढेको छ भने वैधानिक नाकाहरूमा समेत चेकजाँच र आवश्यक व्यवस्थापनको अभाव रहेको छ । गड्डाचौकी र गौरीफन्टा नाकाहरू कञ्चनपुरका लागि मात्रै नभई देशका विभिन्न भूभागका नागरिकहरू आउने नाका भएकोले यात्रुहरूको व्यवस्थापन गर्न र गन्तव्यसम्म पुर्‍याउन समस्या भइरहेको प्रशासनले जनाएको छ । स्थानीय तहको तयारीमा अझै पनि कमी, यहाँका अस्पताल सहितका सबै स्वास्थ्य संस्थामा किटको अभाव, स्वास्थ्यकर्मीको अभाव, भएका स्वास्थ्यकर्मीहरू समेत अधिकांश संक्रमित हुनुले पनि कञ्चनपुर जिल्ला कोभिड १९ बाट अत्यधिक प्रभावित हुने देखिन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button