सल्यानमा आइतबारदेखि निषेधाज्ञा

सल्यान । सल्यानमा आउँदो आइतबार (वैशाख १९ गते) देखि निषेधाज्ञा जारी हुने भएको छ ।
नयाँ भेरियन्टको कोभिड–१९ जिल्लाका सबै पालिकाहरूमा तीव्र रुपमा फैलिएको भन्दै वैशाख १९ गतेदेखि जेठ १ गतेसम्म निषेधाज्ञा जारी गरिएको हो ।
जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र सल्यानको बिहीबार बसेको वैठ्कले वैशाख १९ गते बिहान ६ः०० बजेदेखि जेठ १ गते राती १२ः०० बजेसम्म कायम हुने गरी निषेधाज्ञा जारी गरिएको छ ।
निषेधाज्ञाको क्रममा अत्यावश्यक बाहेकका सम्पूर्ण सार्वजनिक तथा निजी सवारी साधन सञ्चालन गर्न पूर्णरुपमा रोक लगाइएको छ ।
यस्तै बिहान ६ः०० बजेदेखि ९ः०० बजेसम्म र बेलुका ५ः०० बजेदेखि ७ः००बजेसम्म अत्यावश्यक लगायतका खाद्यान्न, तरकारी, फलफूल, दुग्धजन्य, औषधी र स्वास्थ्य सामाग्रीका पसलहरू स्वास्थ्य मापदण्ड अपनाई सञ्चालन गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी होमागाईले जानकारी दिनुभयो ।
अत्यावश्यक सरकारी तथा सार्वजनिक कार्यालय बाहेक अन्य सेवाहरु स्थगन गर्ने, अन्य जिल्ला वा भारत गई फर्कने व्यक्तिहरु १० दिनसम्म स्थानीय तहले निमार्ण गरेका क्वारेनटाइन वा होम क्वारेन्टाइनमा बस्नुपर्ने, जिल्ला अस्पतालमा २० वेडको आइसोलेसन तथा कोरोना उपचार कक्ष निमार्ण गर्ने निर्णय भएको उहाँले जानकारी दिनुभयो ।
कोरोना भाइरसको संक्रमण फैलिएसँगै यसअघि विभिन्न स्थानीय पालिकाहरुले कार्यालयबाट प्रदान गरिने अत्यावश्यक सेवा बाहेकका अन्य सेवा बन्द गरी सकेका छन् ।
नयाँ भेरियन्ट सहितको कोरोनाबाट सल्यान हालसम्म दुई जनाको मृत्यु भइसकेको छ ।








प्रतिक्रिया राख्नुहोस्