तपाईँ सुन्दै हुनुहुन्छः

बीरगंजमा निषेधाज्ञा, बिहानैदेखि बजार सुनसान

बीरगंज । कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि पर्सामा आज बिहान ४ बजेबाट एक हप्ताका लागी निषेधाज्ञा जारी गरिएको छ ।
निषेधाज्ञा जारी भएसँगै बीरगंज बजार बिहानैदेखि सुनसान भएको छ ।
जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको निर्णय बमोजिम आजदेखि वैशाख २२ गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको पर्साका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले बताउनु भयो ।
निषेधाज्ञा अवधिमा अत्यावश्यक सेवा बाहेक अन्य सबै क्षेत्र सेवा बन्द रहने प्रमुख जिल्ला अधिकारी घिमिरेले बताउनुभयो । निषेधाज्ञा उल्लङ्घन गर्नेमाथि कडा कारबाही गरिने प्रहरीले जनाएको छ । 
आज बिहानैदेखि बीरगंजमा निषेधाज्ञा कार्यान्वयन गराउन नगर क्षेत्रका विभिन्न स्थानमा  ठुलो सङ्ख्यामा नेपाल प्रहरी तथा सशस्त्र प्रहरी परिचालन गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय पर्साले संक्रमक रोग ऐन २०२० को दफा २ र स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को ३ अनुरूप आज बिहान ४ बजेदेखि वैशाख २२ गते राति १२ बजेसम्म लागु हुने गरी जिल्लामा निषेधाज्ञा जारी गरेको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी भिमकान्त पौडेलले जानकारी दिनुभयो ।
अहिले बीरगंजमा अत्यावश्यक ढुवानीका सवारी साधन बाहेक अन्य सवारी साधन सञ्चालनमा आएका छैनन् ।
बीरगंजमा सञ्चारकर्मी, नेपाल सरकारका कर्मचारी, बैङ्क तथा वित्तीय संस्था र अन्य अत्यावश्यक सेवामा कार्यरत कर्मचारीहरूको फाटफुट रुपमा आवत जावत भइरहेको छ भने राजधानी लगायत मुलुकको विभिन्न स्थानबाट आएका भारतीय नागरिकहरूलाई आज बिहान  भारततर्फ पठाइएको छ ।
वैशाख यता बीरगंजमा २१ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।  त्यसैगरी नारायणी अस्पतालको प्रयोगशालामा चैत २७ गते देखि यता गरिएको २ हजार  २ सय ९६ जनाको पिसिआर परीक्षणको क्रममा १ हजार २ सय ९१ जनामा कोरोना संक्रमण पुष्टि भएको पर्साका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button