तपाईँ सुन्दै हुनुहुन्छः

बीरगंजमा उपचाररत थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

वीरगञ्ज । वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचाररत थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।

नारायणी अस्पतालमा कोरोना संक्रमण भई उपचाररत बारा स्वर्ण नगरपालिका वडा नम्बर ७ निवासी ३० वर्षीय महिलाको आज बिहान उपचारको क्रममा मृत्यु भएको हो ।

कोरोना संक्रमण पुष्टि भएसँगै श्वास प्रश्वासमा समस्या भएपछि नारायणी अस्पतालमा हिजो भर्ना भएकी महिलाको उच्च निमोनियाको कारण मृत्यु भएको नारायणी अस्पतालका कोभिड संयोजक डाक्टर सरोज रोशन दासले बताउनुभयो ।

त्यसैगरी नारायणी अस्पतालमा सर्लाहीको धनगढा वडा नम्बर ४ निवासी ४३ वर्षीय पुरुषको समेत आज बिहान उपचारको क्रममा मृत्यु भएको छ ।

वैशाख १४  गते अस्पतालमा भर्ना भएका पुरुषको एन्टीजिन परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको र उपचारकै क्रममा उनको आज बिहान निधन भएको नारायणी अस्पतालका कोभिड संयोजक डा. सरोज रोशन दासले जानकारी दिनुभयो ।

मृतकमा उच्च निमोनिया र श्वासप्रश्वास सम्बन्धी समस्याको कारण भेन्टिलेटरमा राखेर उपचार गराउँदा समेत बचाउन नसकिएको डाक्टर दासले बताउनुभयो ।

त्यसैगरी नारायणी अस्पतालमा गए राति पर्साको पोखरीया नगरपालिका वडा नम्बर २ निवासी ७२ वर्षीय पुरुषको पनि कोरोना सङ्क्रमणको कारण मृत्यु भएको छ ।

स्वास्थ्यमा समस्या आएपछि वैशाख १३ गते नारायणी अस्पतालमा भर्ना भएका ती पुरुषको एन्टिजेन परीक्षणमा कोरोना पोजेटिभ रिपोर्ट आएको थियो । गम्भीर किसिमको निमोनियाबाट पीडित पुरुषमा उच्च रक्तचाप समेत भएको नारायणी अस्पतालका कोभिड संयोजक डाक्टर दासले जानकारी दिनुभयो ।

यसैबीच नारायणी अस्पतालमा गरिएको पछिल्लो पिसीआर परीक्षणको क्रममा थप १ सय २४ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

२ सय १० जनाको पिसीआर परीक्षण गरिएकोमा १ सय २४ जनामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका कोभिड संयोजक डाक्टर सरोज रोशन दासले जानकारी दिनुभयो । संक्रमण पुष्टि हुनेमा ९० जना पुरुष र ३४ जना महिला रहेका छन् ।

संक्रमित मध्ये ९६ जना पर्सा जिल्लाको रहेका छन् भने बाराका २५ जना, चितवनका १ जना, महोत्तरीका १ जना र सर्लाहीका १ जनामा  कोरोना संक्रमण पुष्टि भएको डाक्टर दासले बताउनुभयो ।

सङ्क्रमितको उमेर समूह १६ वर्षदेखि ७० वर्षसम्म रहेको र सङ्क्रमितको सिटीभ्यालु १६ देखी ३४ सम्म रहेको नारायणी अस्पतालका कोभिड संयोजक डाक्टर दासले जानकारी दिनुभयो ।

नारायणी अस्पतालको प्रयोगशालामा चैत २७ गते देखि यता गरिएको २ हजार ८ जनाको पिसिआर परीक्षणको क्रममा १ हजार १ सय २२ जनामा कोरोना संक्रमण पुष्टि भएको पर्साका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले जानकारी दिनुभयो ।

मृत्यु भएका थप ३ जना सँगै वैशाख यता बीरगंजमा १९ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button