जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डमा बुटवल प्रथम
रुपन्देही । रुपन्देहीमा सम्पन्न जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा बुटवल उपमहानगरपालिका प्रथम भएको छ । सङ्घीय सरकारको युवा तथा खेलकुद मन्त्रालय मातहत जिल्ला खेलकुद विकास समितिको समन्वयमा उक्त प्रतियोगिता भएको हो ।
हालै भएको प्रतियोगितामा रुपन्देहीका १६ पालिकाहरूलाई पछि पार्दै बुटवल उपमहानगर प्रथम भएको हो । बुटवल उपमहानगरले १० स्वर्ण, १२ रजत र १४ कांस्य प्राप्त गरेको जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख सङ्गमसिंह थापाले जानकारी दिए ।
उक्त प्रतियोगितामा एथलेटिक्स, कबड्डी, भलिबल, कराँते र तेक्वान्दोका अलग अलग समूहमा प्रतिस्पर्धा भएको थियो । प्रतियोगितामा तिलोत्तमा नगरपालिका द्वितीय र कञ्चन गाउँपालिका तृतीय भएको जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख थापाले बताए । उनका अनुसार तिलोत्तमाले १० स्वर्ण, आठ कांस्य र आठ रजत, कञ्चन गाउँपालिकाले ६ स्वर्णप्राप्त गरेका थिए ।
पालिका स्तरमा भएका प्रतियोगिताबाट छनौट भएकाहरूलाई जिल्ला स्तरको प्रतिस्पर्धामा सहभागी गराइएको थियो । अन्तरपालिका स्तरको जिल्ला स्तरीय प्रतियोगिताको आयोजना नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय मातहत रहेको जिल्ला खेलकुद विकास समितिले गरेको हो । यसअघि विद्यालय स्तरमा हुने प्रतियोगिता यसपालिदेखि पालिका स्तरमा भएको हो ।
बुटवलका प्रमुख शिवराज सुवेदीले खेलकुदलाई पनि समृद्धिको एउटा आधारमा रुपमा लिएको भन्दै सोही अनुसार पूर्वाधार विकास देखि खेलाडी उत्पादनसम्मका काममा योजना बनाइएको बताए । उनले खेलकुदको बहु आयामिक विकासका लागि उपमहानगरले निजी क्षेत्रसँग समेत सहकार्यका कार्यक्रम सञ्चालन गरेको बताए ।
जिल्ला प्रथम हुन सफल खेलाडी, प्रशिक्षक, अफिसियल, सहभागी विद्यालय तथा खेल प्रेमी सबैलाई आभार प्रकट गर्दै प्रमुख सुवेदीले पदक प्राप्त गर्ने खेलाडी तथा प्रशिक्षकहरूलाई समय अनुकूल मिलाएर सम्मान गरिने पनि जानकारी गराए ।
उमेर समूहका खेलाडीलाई प्लेटफर्मको आधारका रुपमा पालिका स्तरमा भएका प्रतियोगिताबाट उत्कृष्ट भएकाहरू जिल्ला स्तरमा भएको अन्तर पालिकाको प्रतियोगितामा सहभागी गराएको र उनीहरूबाट उत्कृष्ट नतिजा प्राप्त भएको बुटवल नगर खेलकुद विकास समितिका सदस्य तथा खेलाडीका प्रशिक्षक उमेश थापाले बताए ।








प्रतिक्रिया राख्नुहोस्