तपाईँ सुन्दै हुनुहुन्छः

कोभिड सङ्क्रमितका लागि निःशुल्क अक्सिजन बैङ्कको स्थापना

वीरगञ्ज । कोभिड सङ्क्रमणको कारण अप्ठ्यारोमा परेका नागरिकको जीवन रक्षाका लागि वीरगञ्ज महानगरपालिका र लायन्स क्लब इन्टरनेशनलको साझेदारीमा वीरगन्जमा आजदेखि निःशुल्क अक्सिजन बैकको स्थापना गरिएको छ ।
वीरगञ्ज महानगरपालिकाले अक्सिजनको अभावका कारण जीवन जोखिममा रहेका महानगरपालिकामा बसोबास गर्ने नागरिकको जीवन रक्षाका लागि निःशुल्क रुपमा अक्सिजन वितरण गर्न लागिएको नगर प्रमुख विजय कुमार सरावगीले जानकारी दिनुभयो ।
कोभिड संक्रमित भई होम आइसोलेसनमा उपचार गराई रहनुभएका नागरिकको जीवन रक्षाका लागि आवश्यक पर्ने औषधी, अक्सिजन र त्यसमा लाग्ने किट समेत निःशुल्क रुपमा वीरगञ्ज महानगरपालिका कार्यालयमा स्थापना गरिएको अक्सिजन बैङ्कबाट वितरण गरिने लायन्स क्लब अफ इन्टरनेशनलका पूर्व निर्देशक सञ्जय खेतानले बताउनुभयो ।
होम आइसोलेसन बाहेक वीरगन्जका अस्पतालमा समेत उपचारार्थ भर्ना भएका कोभिड बिरामीहरूको लागि समेत अस्पतालमा सहज रुपमा अक्सिजन व्यवस्था नभएमा महानगरपालिका रहेको अक्सिजन बैङ्कबाट निःशुल्क रुपमा अक्सिजनको सिलिन्डरसहित त्यसमा लाग्ने किट उपलब्ध गराइने नगर प्रमुख सरावगीले बताउनुभयो ।
अक्सिजन प्रयोगपछि पुन वीरगञ्ज महानगरपालिकाको अक्सिजन बैङ्कमा खाली सिलिन्डर फिर्ता गर्नुपर्ने शर्त राखेर कोभिड बिरामीका लागि अक्सिजन वितरण गरिने लायन्स क्लबका पूर्व काउन्सिलर चेयरमेन रमेश अग्रवालले जानकारी दिनुभयो ।
होम आइसोलेसनमा उपचार गराइरहेका बिरामीहरूको स्वास्थ्य अवस्था जानकारी लिन हरेक वडा कार्यालय मार्फत प्यारा मेडिकल सहितको स्वास्थ्यकर्मी परिचालन गरिएको नगर प्रमुख विजय कुमार सरावगीले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button