दमौलीमा ‘तपाईँको मास्क खै’ अभियान सुरु, मास्क नलगाए १०० रुपैयाँ जरिवाना

तनहुँ। कोरोना सङ्क्रमणबाट बच्न, रोकथाम तथा नियन्त्रणका लागि तनहुँको दमौलीमा ‘तपाईँको मास्क खै?’ अभियान सुरु भएको छ ।
सर्वसाधारणलाई सचेतना जगाउने उद्देश्यले जिल्ला स्वास्थ्य कार्यालय तनहुँ र जिल्ला प्रहरी कार्यालयले सोमबारदेखि संयुक्त रुपमा उक्त अभियान सुरु गरेको हो ।
जिल्ला प्रहरी कार्यालय तनहुँ र जिल्ला स्वास्थ्य कार्यालयले संयुक्त रुपमा सोमबारबाट मस्क नलगाई हिँड्नेलाई १०० रुपैयाँ जरिवाना वा एक महिना कैद गर्न सक्ने तनहुँका प्रमुख जिल्ला अधिकारी सागर आचार्यले जानकारी दिनुभयो ।
’चेतना त पुगेको तर धेरै नै लापरबाही बहेको देखिएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले बताउनुभयो । उहाँले भन्नुभयो ’अहिले झन् अवस्था जटिल हुने देखिन्छ त्यसैले सबैले मास्क र दुरी कायम अनिवार्य गर्नुपर्ने देखिन्छ ।’
अटेर गरी मास्क नलगाई हिँडे सङ्क्रामक रोग ऐन २०२० अनुसार कारबाही गरिने भनी सचेत गराइएको समेत सहायक प्रमुख जिल्ला अधिकारी बरालले जानकारी दिनुभयो ।
कोरोनाको जोखिम बढ्दै जाँदा सर्वसाधारणले मास्क लगाउने क्रम घटेपछि सचेतना जगाउने उद्देश्यले यो अभियान सुरु गरिएको स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिनुभयो । सोमबार दमौलीमा सुरु भएको अभियान जिल्लाभर गरिने प्रमुख अधिकारी बताउनुभयो ।
कोरोनाको जोखिम उच्च रहेकाले मास्क लगाएर आफू पनि बचौँ र अरूलाई पनि बचाऔँ भन्ने सन्देशसहित अभियान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक अरुण पौडेलले बताउनुभयो।
अभियानमा जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपाने, सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बराल, व्यास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देल, तनहुँ उद्योग वाणिज्य सङ्घका अध्यक्ष पविन्द्रकुमार श्रेष्ठ लगायत सहभागी हुनुहुन्थ्यो । सो क्रममा उहाँहरूले सर्वसाधारणलाई मास्क लगाउन सचेतना जगाउँदै निःशुल्क रुपमा मास्क समेत वितरण गर्नुभएको थियो ।
कोरोनाको जोखिम बढेसँगै जिल्ला प्रशासन कार्यालय तनहुँले आवश्यक तयारी समेत सुरु गरेको छ । प्रत्येक स्थानीय तहलाई आ–आफ्नो क्षेत्रमा भारत र अन्य मुलुकबाट आउने व्यक्तिहरूको निगरानी राख्न वडास्तर र टोलस्तरमा यस अघि गठन भएका समितिहरुलाई पुनः सक्रिय बनाउने, उनीहरूलाई निगरानीमा राखी दश दिन अनिवार्य रुपमा क्वारेन्टिनमा राख्ने व्यवस्था मिलाउन स्थानीय तहलाई अनुरोध गरिएको छ ।
साथै मठ मन्दिर तथा धार्मिक स्थलमा जमघट गर्न रोक लगाउनुका साथै वैशाख मसान्तसम्म आमसभा तथा जुलुस गर्न रोकिएको छ भने मठ मन्दिर, मस्जिद, गुम्बा, चर्च लगायतका धार्मिक स्थलमा जमघट नगरी जनस्वास्थ्यका निर्धारित मापदण्ड पालना गर्ने गरी नित्यपूजा र प्रार्थना मात्र गर्न भनिएको छ ।








प्रतिक्रिया राख्नुहोस्