तपाईँ सुन्दै हुनुहुन्छः

जुम्लामा फोन र इन्टरनेट सेवा अस्तव्यस्त, उपभोक्ता मारमा

जुम्ला । जुम्लामा दुई दिनदेखि इन्टरनेट र फोन सेवा अनिश्चित रुपमा अवरुद्ध हुँदा उपभोक्ता मारमा परेका छन् ।
शुक्रवार रातिदेखि अवरुद्ध भएको इन्टरनेट र फोन सेवा आइतबार बिहानदेखि फोनले फाटफुट रुपमा काम गरे पनि इन्टरनेट सेवा भने पूर्ण रुपमा अवरुद्ध हुँदा उपभोक्ता मारमा परेका हुन् ।
फोनमा पनि कुरा नबुझिने, आवाज स्पष्ट नआउने, बीचबीचमा फोन कट्ने समस्या रहेको छ । वैशाख महिनादेखि क्षमता अभिवृद्धि गरेर विगतको भन्दा नेपाल टेलिकमले सेवा प्रभावकारी बनाउने भनिए पनि अवस्था नसुध्रिएको छैन ।
महिनैपिच्छे सञ्चार सेवा अवरुद्ध हुने जुम्लामा नागरिकले नेपाल टेलिकमबाट सेवा भन्दा बढी सास्ती पाएको नेपाल पत्रकार महासङ्घ जुम्लाका अध्यक्ष नेत्र बहादुर शाहीले बताउनुभयो ।
वैशाखदेखि क्षमता बढाउने भनिएकोमा उल्टै सेवा अवरुद्ध भएकोले तत्काल सुधार गर्नुपर्ने उहाँको जोड छ । सुधार गर्ने भन्दै महिना वर्ष बितिसक्दा पनि सहज टेलिफोन तथा इन्टरनेट सेवा नपाउँदा जुम्ली उपभोक्ता मारमा परेका हुन् ।
यता नेपाल टेलिकम जुम्लाका प्रमुख रामचन्द्र श्रेष्ठले सदरमुकामको पूर्व चिमारा स्थित रिपिटर टावरको ट्रान्समिसन सिस्टममा समस्या आएकोले सञ्चार सेवा अवरुद्ध भएको बताउनुभयो । उहाँले मर्मत कार्य नियमित भइरहेको तर सुधार ठ्याक्कै कहिले हुन्छ भन्ने नसकिने बताउनुभयो ।
हाल जुम्लामा जम्मा ४ सय ८९ एमबी मात्रै क्षमता भएको र ग्राहक क्षमता भन्दा दोब्बरले बढी भएकोले समस्या हुने गरेको थियो । तर, पछिल्लो समय हिमपात र वर्षातका कारण टान्समिसनमा आएको खराबीले इन्टरनेट र टेलिफोन सेवामा समस्या आएको प्रमुख श्रेष्ठको भनाई छ ।
जुम्लाका नागरिक अगुवाहरूले नेपाल टेलिकमसँग पर्याप्त प्राविधिक ज्ञान भएका जनशक्ति नभएकै कारण पटक पटक सञ्चार सेवा अवरुद्ध हुने गरेको गुनासो गरेका छन् । दक्ष जनशक्ति नभएकै सामान्य समस्या हुँदा पनि २–३ दिन सञ्चार सेवा अवरुद्ध हुने अवस्था रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button