तपाईँ सुन्दै हुनुहुन्छः

जीतपुरसिमरा गोल्डकपको उपाधि सङ्कटा क्लबलाई 

बारा । अफ्रिकन रुट्स एसोसिएसन (एआरए) लाई सडन डेथमा पराजित गर्दै सङ्कटा क्लबले विश्वकर्मा सिमेन्ट ११ औँ जीतपुरसिमरा गोल्डकपको उपाधि जितेको छ ।

सिमरा रङ्गशालामा फ्लड लाइटमा भएको उपाधि भिडन्तमा पाहुना टोली एआरएलाई स्तब्ध पार्दै सङ्कटाले दोस्रो पटक जीतपुरसिमरा गोल्डकपको उपाधि उचालेको हो । यसअघि आठौँ संस्करणको उपाधि सङ्कटाले जितेको थियो ।

प्रतिस्पर्धात्मक भिडन्तमा सङ्कटालाई उपाधि दिलाउने क्रममा गोलरक्षक राजाबाबु थापा नायक बने ।  सङ्कटाका साहिद स्मार्टले सडन डेथमा गोल गर्दा क्यामरुनका काकाको प्रहारलाई गोलरक्षक राजाबाबुले बचाउ गरे । उनको उत्कृष्ट बचाउसँगै जारी सिजनमा सङ्कटाले एआएरमाथी जितको ह्याट्रिक गरेको छ ।

जीतपुरसिमरा गोल्डकपको दोस्रो पटक उपाधि जितेको सङ्कटाले ट्रफीसहित ७ लाख नगद हात पारेको छ । उपविजेता अफ्रिकन रुट्स एसोसिएसनले ३ लाख ५० हजार प्राप्त गरेको छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी आयोजक नव जनजागृति युवा क्लबका मोहित गुरुङ घोषित भए । उनले बेनेलीको एक थान मोटरसाइकल हात पारे ।

यसैगरी विधागततर्फ प्रतियोगिताको उत्कृष्ट गोलरक्षक सङ्कटाका राजाबाबु थापा, उत्कृष्ट डिफेन्स सङ्कटाका अभिषेक लिम्बु, उत्कृष्ट मिडफिल्ड सङ्कटाका रोशन पहरी, उत्कृष्ट प्रशिक्षक सङ्कटाका राजकुमार केसी घोषित भए । यसैगरी उत्कृष्ट फरवार्ड एआरएका एन्जिमी घोषित भए ।

प्रतियोगिताको ईमर्जिङ प्लेयर अफ दि टुर्नामेन्ट नव जनजागृति युवा क्लबका रोहन तामाङले जिते । विधागततर्फ उत्कृष्ट भएका सबैले जनही १५ हजार नगद हात पारे ।

विजेता, उपविजेता र अन्य उत्कृष्ट खेलाडीलाई जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख डा. कृष्ण पौडेल, उपप्रमुख सरस्वती चौधरी, एन्फा महासचिव इन्द्रमान तुलाधर, विश्वकर्मा सिमेन्टका महाप्रबन्धक दीपक घिमिरे लगायतले पुरस्कार वितरण गरेका थिए ।

जीतपुरसिमरा उपमहानगरपालिकाको सहयोग र विश्वकर्मा सिमेन्टको मुख्य प्रायोजनमा चैत ३१ गते सुरु भएको प्रतियोगितामा १२ टिमको सहभागिता रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button