तपाईँ सुन्दै हुनुहुन्छः

हतियार तथा लागु औषध कारोबारमा संलग्न गिरोहका ७ जना पक्राउ

बीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साले दुई थान स्वचालित पेस्तोलसहित हातहतियार र लागू औषधको कारोबारमा संलग्न गिरोहका ७ जनालाई पक्राउ गरेको छ ।
गत वैशाख ८ गते वीरगंजको सीमावर्ती भारतीय बजार रक्सौलबाट नेपालतर्फ आउने क्रममा शङ्कराचार्य गेट नजिकैबाट प्रहरीले चेकजाँचको क्रममा मकवानपुर जिल्ला मनहरी गाउँपालिका वडा नम्बर ५ बस्ने २५ वर्षीय राजु राना मगरको साथबाट ‘सनमाइका’ लेखेको स्वचालित पेस्तोल र त्यसमा प्रयोग हुने दुई थान म्याग्जिन बरामद गरेसँगै अनुसन्धान गर्दै जाँदा प्रहरीले एक प्रहरी जवानसहित ७ जना हतियार लागु औषधका गिरोहलाई दुई थान पेस्तोलसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक बेल बहादुर पाण्डेले बताउनुभयो ।
अनुसन्धानको क्रममा मगर विगत ८/९ वर्ष अगाडिदेखि लागू औषध दुर्व्यसनी रहेको र पछिल्लो ५ वर्षदेखि भारतको रक्सौलबाट लागू औषध खरिद गरी काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा लागू औषधका कारोबारीहरूलाई बिक्री गर्दै आएको खुलेको छ ।
मगरको बयानका आधारमा पर्सा प्रहरीले अवैध हतियार र लागु औषधको कारोबारमा संलग्न भएको आरोपमा जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत २९ वर्षीय प्रहरी जवान अवधेश प्रसाद यादव, वीरगंज महानगरपालिका वडा नम्बर १२ मुर्ली निवासी ४३ वर्षीय  लालबाबु सिंह,  ३५ वर्षीय श्यामबाबु कुशवाहा, ४२ वर्षीय अरविन्द प्रसाद गुप्ता, ४२ वर्षीय कुँवर सिंह, वीरगंज महानगरपालिका वडा नम्बर १५ निवासी २४ वर्षीय नन्दन सिंह र ३१ वर्षीय रोशन सिंहलाई  पक्राउ गरेको छ ।
प्रहरीले अभियुक्तहरूको साथबाट एक सय सेट इन्जेक्सन, १२ सय पिस नेट्राभेट ट्याब्लेट र एक्सट्रा म्याग्जिनसहितको ‘सनमाइका’ लेखेको स्वचालित २ थान पेस्तोल बरामद गरेको प्रहरी उपरीक्षक पाण्डेले बताउनुभयो ।
पक्राउ परेका व्यक्तिहरू पहिलेदेखि नै लागू औषध बेचबिखन, लुटपाट लगायतका आपराधिक कार्यमा संलग्न रहेको खुल्न आएको प्रहरी उपरीक्षक पाण्डेले बताउनुभयो ।
घटनाका अभियुक्तहरूलाई लागू औषध, हातहतियार तथा सङ्गठित अपराधमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक पाण्डेले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button