तपाईँ सुन्दै हुनुहुन्छः

विनाशकारी भूकम्पको ६ बर्ष : पीडा र त्रासमै बिते दिन

दोलखा । २०७२ साल वैशाख १२ गतेको विनाशकारी भूकम्प पछिका ६ बर्ष डिल्ली भुजेलको लागि पीडा र त्रासको बर्ष बन्यो ।

दोलखा मेलुङ गाउँपालिका वडा नम्बर ७ घ्याङ पाखाभित्ता टोलका डिल्ली भुजेलको घर भूकम्पले चर्किएर बस्न नहुने बनेको भएपनि लाभग्राहीको सूचिमा नाम नआएपछि उनी त्यही घरलाई टालटुल गरेर बस्न बाध्य छन् ।

आफ्नो खर्चले नयाँ घर बनाउन आर्थिक अवस्था सवल छैन, लाभग्राहीको सूचिमा नाम नआएपछि सरकारको तर्फबाट पनि पैसा आएन त्यसैले बाध्य भएर चर्किएकै घरलाई टालटुल गरेर बसेको छु – भुजेलले भने । भूकम्पको साना तिना धक्कामात्र हैन सडकमा मोटर गुड्दा समेत घर हल्लिने भएकोले विनाशकारी भूकम्पको ६ वर्षको अवधि त्रास र पीडामै बितेको भुजेलको गुनासो छ ।

वडा नम्बर ३ घ्याङ माझगाँउका रवि लामाको पीडा पनि भुजेलको भन्दा कम छैन । लाभग्राहीको सूचिमा नाम नआएपछि पुरानै घर टालटुल गरेर बसेका रविको परिवार भूकम्पको सानो तिनो झड्का र ठुलो बर्षात हुँदा समेत नजिकैको टहरामा बस्ने गर्छन् ।

२०७२ सालको विनाशकारी भूकम्प पछि करिब एक वर्षसम्म टहरामा बितायौ । पुस माघमा भने चिसोका कारण बाध्य भएर भूकम्पले चर्किएकै घरमा बस्न थालेका छौ – रविले भने । नयाँ घर बनाउन लाभग्राही सूचिमा नाम नआएपछि सम्भव भएन त्यसैले यो ६ वर्षको अवधिमा सानो तिनो कम्पन र वर्षाको समय टहरामा बस्ने र अरुबेला टालटुल गरेको घरमै जाने गरेर बिताएका छौ– उनले भने ।

दोलखा मेलुङ गाउँपालिका वडा नम्बर ३ को माझगाँउ, पाखाभित्ता, काँडे, तल्लो घ्याङ, भञ्ज्याङ लगायतका करिब एक सय ५० घर परिवारको नाम लाभग्राहीको सूचिमा परेको छैन । उनीहरू मध्य अधिकांशले भूकम्पले चर्किएकै घरलाई टालटुल गरेर बसेका छन् ।

पटक पटक पुनरावेदन गर्दा पनि लाभग्राहीको सूचिमा नाम नआएपछि घ्याङका केही भूकम्प पीडितले भने आफ्नै खर्चमा नयाँ घर बनाएका छन् । माझगाँउका नेत्रबहादुर तामाङ धेरै प्रयास गर्दा समेत लाभग्राहीको सूचिमा नाम नपरे पछि आफूले आफ्नै खर्चमा नयाँ घर बनाएको तर अझै पनि आर्थिक समस्या भएका धेरै भूकम्प पीडित चर्किएकै घरमा बस्न बाध्य भएको बताउँछन् ।

वडा नम्बर ३ घ्याङका भूकम्प पीडित धेरैको घर पूर्णरुपमा नभत्किएको कारण लाभग्रहिको सूचिमा नाम नआएको हुनसक्ने स्थानीयको अनुमान छ । भूकम्प लगतै प्राविधिक आएर चर्किएर बस्न नहुने घरको विभिन्न स्थानको फोटो सहितको विवरण लगेको भएपनि लाभग्राहीको सूचिमा नाम नआउनु प्राविधिकहरूको कमजोरी रहेको स्थानीयको आरोप छ ।

वडा नम्बर ३ का वडा अध्यक्ष एवं मेलुङ गाउँपालिकाका प्रवक्ता हिरा थोकर वडाले वास्तविक भूकम्प पीडितहरूको नाम लाभग्राहीको सूचिमा नपरेपछि पुनरावेदनको लागि सहयोग गरेको तर जतिसुकै प्रयत्न गर्दा पनि नाम नआएको बताउँछन् । भूकम्प पीडितहरूलाई भवन निर्माणमा सहयोग गर्ने कुरामा वडा या पालिकाको अधिकार नभएकोले पनि समस्या भएको वडा अध्यक्ष थोकरको गुनासो छ ।

मेलुङ गाउँपालिकाका अध्यक्ष नरबहादुर श्रेष्ठ गाउँपालिकाको सबै वडामा गरी झण्डै तीन सय ५० जना जतिको नाम लाभग्राहीको सूचिमा नआएकोले उनीहरू मध्यका अधिकांश भूकम्पले चर्काएकै घरमा बस्न बाध्य बनेको बताउँछन् । गाउँपालिकाले वास्तविक भूकम्प पीडितको नाम लाभग्राहीको सूचिमा पार्न पटक पटक प्रयास गरेको भएपनि सम्भव नभएको अध्यक्ष श्रेष्ठको भनाई छ । सङ्घीय सरकारले वास्तविक भूकम्प पीडितको पहिचान गर्ने जिम्मेवारी स्थानीय सरकारलाई दिएर अहिले देखिएको समस्या समाधानको लागि पहल गर्नु पर्ने गाउँपालिका अध्यक्ष श्रेष्ठ बताउँछन् ।

जिल्ला आयोजना कार्यान्वयन इकाई (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) दोलखाका टिका जोशीका अनुसार दोलखामा लाभग्राहीको सूचिमा नपरेका आठ हजार पाँच सय ७४ जना भूकम्प पीडित रहेकोमा चार हजार तीन सय ४३ जनाले पुनरावेदन गरेको र त्यसमा पाँच सय भूकम्प पीडितको निर्णय आएको छ । निर्णय आएका पाँच सय जनामा १६ जनाको लाभग्राही सूचिमा नाम समावेश भएपनि बाँकीको भने कायम नभएको जोशीले बताए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button