तपाईँ सुन्दै हुनुहुन्छः

माथिल्लो तामाकोसीको मुख्य सुरूङमा पानी पठाइदै

चरीकोट । निर्माणाधीन ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाले सोमबारदेखि मुख्य सुरुङमा पानी पठाउने भएको छ । दोलखाको बिगु गाउँपालिका–१, लामाबगरमा निर्माणाधिन आयोजनामा निर्मित जलाशयमा सोमबारदेखि पानी भरी सोमबारदेखि मुख्य सुरुङमा पानी पठाउने काम हुन लागेकाले हो ।

यसैबीच आयोजनाले यो बेला तामाकोसीदेखि सुनकोसी दोभानसम्म पानीको विविध क्षेत्रमा हुने प्रयोगमा रोक लगाएको छ । सुरु गरिएको पानी परीक्षणका क्रममा तामाकोसीको पानी रोक्ने र छोड्ने काम गर्नुपर्ने हुँदा नदीमा पानी प्रवाह एकै पटक कम र धेरै हुनसक्नेभन्दै नदी आसपाशमा काम नगर्न आग्रह गरेको हो ।

पानी रोक्ने र छोड्ने काम गर्दा कुनै बेला एकै पटक धेरै मात्रामा पानी छोड्नुपर्ने पनि हुनसक्छ । यसो गर्दा बाँधदेखि तल्ला तटीय क्षेत्रअन्तर्गत किनारामा पर्ने स्थानमा पानी घटबढ भइरहन सक्छ । यो बेलामा माछा मार्ने, नुहाउने, पौडी खेल्ने, लुगा धुने, ढुङ्गा बालुवा निकाल्ने, बस्तुभाउ ओसारपसार गर्नेलगायतका काम नगर्न आयोजनाले आग्रह गरेको हो ।

आयोजनाको बाँध स्थलदेखि सिँगटी बजारसम्म प्रत्यक्ष र त्योभन्दा तल्लो क्षेत्रमा पनि अप्रत्यक्ष रूपमा पानी घटबढ भइरहने आयोजना प्रवक्ता डा. गणेश न्यौपानेले जानकारी दिनुभयो । प्रभावित क्षेत्रका स्थानीय तह र स्थानीय प्रशासनलाई समेत जानकारी गराइएको न्यौपानले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button