उर्वर खेत माछा पोखरीमा परिणत हुँदै
रासस । तीन बाली अन्न उत्पादन हुने तराईका उर्वर खेत धमाधम माछा पोखरीमा परिणत हुँदै गएका छन् ।
सरकारले तराईमा एक हेक्टर जमिनमा माछा पोखरी खन्न किसानलाई दुई लाख अनुदान दिने व्यवस्था गरेपछि उर्वर जमिन मासेर व्यावसायिक माछा पाल्ने प्रचलन बढ्दै गएको छ ।
आगामी वर्ष नेपाल माछामा आत्मनिर्भर बन्ने गरी लगानी र किसानहरूलाई माछापालनमा प्रोत्साहन गरिएको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले जनाएको छ । गत महिना कृषि तथा पशुपक्षी विकास मन्त्रालयले कुखुरा र अण्डामा आत्मनिर्भर भएको घोषणा गरेको थियो ।
नेपालको कूल जलाशयले ढाकेको ३ लाख ९५ हजार हेक्टर क्षेत्र उपयोगविहीन छ । ३ लाख ९५ हजार हेक्टर जमिन भनेको ७९ लाख रोपनी हुन्छ । सबै जलाशयले ढाकेकोमध्ये आधा अर्थात् ४० लाख रोपनी क्षेत्रमा माछापालन गर्न सक्दा झन्डै करिब ५ खर्बको माछा उत्पादन हुन्छ, जबकि नेपालीका लागि हालको मूल्यमा करिब २६ अर्ब अर्थात् १ लाख ८ हजार मेट्रिक टन माछा भए हालको जनसङ्ख्यालाई पर्याप्त हुन्छ ।
पशुपक्षी विकास मन्त्रालयका सचिव प्रेमनारायण कँडेलले अघिल्लो आर्थिक वर्षमा १ लाख ३ हजार मेट्रिक टन माछा उत्पादन भएको बताउनुभयो । माछामा नेपालीलाई आत्मनिर्भर बन्न १ लाख ८ हजार मेट्रिक टन माछा आवश्यक पर्छ । पूर्ण आत्मनिर्भर बन्न ५ हजार मेट्रिक टन माछाको उत्पादन बढाउनुपर्ने देखिन्छ ।








प्रतिक्रिया राख्नुहोस्