मुख्यमन्त्री गुरुङद्वारा लोकतन्त्र दिवसको शुभकामना

गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले संविधानको मर्म र भावनाअनुरूप सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई थप सुदृढ गराउँदै समृद्ध नेपाल, सखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न सक्दा नै लोकतन्त्र दिवसको अर्थपूर्ण स्मरण हुने विश्वास व्यक्त गर्नुभएको छ ।
लोकतन्त्र दिवस २०७८ को अवसरमा आज जारी प्रेस विज्ञप्तिमार्फत शुभकामना सन्देश प्रदान गर्दै उहाँले २०६२/६३ को ऐतिहासिक जनआन्दोलनले सफलता प्राप्त गरेको दिन आजलाई लोकतन्त्र दिवसका रूपमा स्मरण गर्दै आएको बताउनुभएको छ ।
उहाँले शुभकामना सन्देशमा राष्ट्रिय स्वाधिनता तथा लोकतन्त्र प्राप्तिका निम्ति सञ्चालित विभिन्न शान्तिपूर्ण जनआन्दोलन, सशस्त्र सङ्घर्षलगायत न्याय, समानता एवं स्वतन्त्रको निमित्त भएका आन्दोलनमा योगदान पुर्याउनु हुने शहीदप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै बेपत्ता तथा घाइते योद्धाप्रति सम्मान व्यक्त गर्नुभएको हो ।
जनआन्दोलनले २००७ यताका सम्पूर्ण सङ्घर्षबाट प्राप्त उपलब्धिको जगमा उभिएर निरङ्कुश राजतन्त्रको अन्त्य गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न निर्णायक भूमिका खेलेको मुख्यमन्त्री गुरुङले जारी विज्ञप्तिमा उल्लेख गर्नुभएको छ ।
सबै राजनीतिक दल, नागरिक समाजलगायत सम्पूर्ण नेपाली एकजुट भएर लाग्न आजको दिनले हामी सबैलाई प्रेरित गर्न सक्नेछ भन्ने विश्वास व्यक्त गर्दै उहाँले अबको लडाइँ आर्थिक समृद्धिको भएको बताउनुभएको छ ।
विश्व मानवजातिकै अस्तित्वका लागि चुनौती बनेको कोभिड–१९ को दोस्रो लहरको सङ्क्रमण बढिरहेको सन्दर्भमा सम्पूर्ण सरोकारवाला निकाय यसको रोकथाम, नियन्त्रण र उपचारमा पूर्ण क्षमताका साथ लाग्नु हुन साथै सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा हेलचक्र्याइँ नगरी स्वास्थ्य सुरक्षाका मापदण्डको पूर्णरूपमा पालना गरी सतर्कता अपनाउनु हुनसमेत उहाँले जारी विज्ञप्तिमार्फत अपिल गर्नुभएको छ ।रासस








प्रतिक्रिया राख्नुहोस्