नारायणी अस्पतालमा उपचाररत ४२ वर्षीय कोरोना सङ्क्रमित पुरुषको मृत्यु

बीरगंज । बीरगंजको नारायणी अस्पतालमा उपचाररत सर्लाहीका ४२ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।
सर्लाही जिल्लाको मलंगवा नगरपालिका वडा नम्बर २ निवासी ४२ पुरुषको बीरगञ्जस्थित नारायणी अस्पतालमा उपचारको क्रममा आज मृत्यु भएको नारायणी अस्पतालका कोभिड संयोजक डा.सरोज रोशन दासले बताउनुभयो ।
एन्टीजेन प्रविधिबाट परीक्षण गर्दा कोरोना सङ्क्रमण पुष्टि भई मङ्गलवारदेखि उनको नारायणी अस्पतालको आइसियु वार्डमा उपचार भइरहेकोमा उपचारकै क्रममा मृत्यु भएको अस्पतालका कोभिड संयोजक डा. दासले जानकारी दिनुभयो ।
स्वास्थ्यमा अचानक समस्या आएपछि उनलाई सर्लाहीबाट नारायणी अस्पतालमा ल्याइएको थियो ।
मृतक पुरुषमा गम्भीर र कडा किसिमको निमोनियासँगै श्वासप्रश्वासमा समस्या देखिएको चिकित्सकले बताएका छन् ।
उनलाई थप उपचारका लागि काठमाडौँ लैजाने तयारी भइरहेको बेला मृत्यु भएको डा.दासले बताउनुभयो ।
यसैबीच नारायणी अस्पतालमा गरिएको पछिल्लो पिसीआर परीक्षणको क्रममा ९१ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।
१ सय ४० जनाको पिसीआर परीक्षण गरिएकोमा ९१ जनामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका कोभिड संयोजक डा.सरोज रोशन दासले जानकारी दिनुभयो ।
संक्रमित मध्ये ७६ जना पर्सा जिल्लाको रहेकोमा बीरगंज महानगरपालिकाका ६८ जना रहेको डा.दासले बताउनुभयो ।
त्यसै गरी कोरोना संक्रमण पुष्टि हुनेहरूमा बाराका ९ जना रहेका छन् भने सर्लाहीका ३ जना, रौतहटको १ जना, मकवानपुरका १ र सप्तरीको १ जनामा कोरोना संक्रमण पुष्टि भएको डा.दासले बताउनुभयो ।
सङ्क्रमितको उमेर समूह ६ वर्षदेखि ७९ वर्षसम्म रहेको र सङ्क्रमितको सिटी भ्यालु १४ दशमलव २ देखि ३५ दशमलव ५ सम्म रहेको नारायणी अस्पतालका कोभिड संयोजक डा.दासले जानकारी दिनुभयो ।
नारायणी अस्पतालको प्रयोगशालामा चैत २७ गतेदेखि वैशाख ७ गतेसम्म गरिएको ९ सय ९ जनाको पिसिआर परीक्षणमा ४ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको पर्साका प्रमुख जिल्ला अधिकारी पीताम्बर घिमिरेले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्