सिद्धार्थ राजमार्गको चिडियाखोला दोभान सडक खण्डमा कालोपत्रे सुरु

पाल्पा । डिभिजन सडक कार्यालयले सिद्धार्थ राजमार्गको चिडियाखोला दोभान सडक खण्डमा कालोपत्रेको काम आजबाट सुरु गर्ने जनाएको छ ।
डिभिजन सडक कार्यालय, तिनाउ गाउँपालिका, प्रहरी चौकी दोभान र स्थानीय बासिन्दाको सम्युक्त अनुगमनपछि दोभान बजार क्षेत्रबाट कालोपत्रेको काम तत्काल सुरु गर्ने निश्कर्ष निकालिएको हो ।
तिनाउ गाउँपालिकाका अध्यक्ष ओमबहादुर घर्तीले खानेपानी र सडक निर्माणको काम समन्वयात्मक ढंगले अगाडि बढाउन दुबै कार्यालयलाई अनुरोध गरिएको बताउनुभयो । जीर्ण सडक र सडक ढलान तथा खानेपानीको पाइप बिछ्याउने कार्यले चिडियाखोला दोभान क्षेत्रमा अत्यधिक ट्राफिक जाम हुने गरेको छ ।
सडक ढलान गर्दा भएका कमीकमजोरी सुधार गर्ने, नाली निर्माण र कालोपत्रेको कामलाई सँगसँगै अगाडि बढाउने सहमति भएको स्थानीय बासिन्दा कृष्ण पाण्डेयले बताउनुभयो ।
खानेपानीको पाइपलाइन नाली वा नालीभन्दा पारिबाट गर्ने, दोभान चौपारीसम्मको काम समीक्षा गरेर मात्र बिस्तार गर्ने, दोभानदेखि चिडियाखोलासम्म निर्माण व्यवसायीले दैनिक रुपमा पानी छर्कनेलगायतका सहमति भएका छन् ।
डिभिजन प्रमुख मुकुन्दराज अधिकारीले खानेपानी र सडकका परिभाषित कामलाई प्रभावकारी बनाउन निर्माण व्यवसायीलाई आग्रह गरिएको बताउनुभयो । सरकारले चिडियाखोला बाँसटारी खण्डका लागि ७ करोड ४० लाख र खानेपानी आयोजनाअन्तर्गत सडक निर्माणका लागि ३ करोड ७९ लाख रुपैँया विनियोजन गरेको छ । दोभान र झुम्सा सडक खण्डको ढलानको काम सकिएको तिरुपति निर्माण सेवाले जनाएको छ ।
बाँसटारी–झडेवा–गोठादी सडकखण्डको तीन स्थानमा (कल्भर्ट) पुल निर्माणको काम सुरु
बाँसटारी–झडेवा–गोठादी सडकखण्डको तीन स्थानमा (कल्भर्ट) पुल निर्माणको काम सुरु भएको छ । उक्त सडक खण्डको बुढी तिनाउ, ओझा खोला र झडेवाको झडेवा खोलामा गरी तीन स्थानमा एकै पटक कल्भर्ट निर्माणको काम सुरु भएको हो ।
लुम्विनी प्रदेश सरकारको लगानीमा तीन स्थानमा कल्भर्ट निर्माणको काम सुरु गरिएको सडक पूर्वाधार विकास कार्यालय पाल्पाले जनाएको छ । पूर्वाधार कार्यालयका प्रमुख प्रेमनारायण बस्यालका अनुसार प्रदेश सरकारले आव २०७७÷०७८ मा विनियोजन गरेको एक करोड ७४ लाख ३९ हजार रुपियाँ लागतमा तीन वटा कल्भर्ट निर्माणको काम भईरहेको छ ।
बाँसटारी–झडेवा–गोठादी सडकखण्डको बुढी तिनाउ र ओझा खोलामा डबल स्पानसहित तीन÷पाँच मीटरका दुई वटा र झडेवा खोलामा कल्भर्ट निर्माणको काम भईरहेको छ । तीन वटै स्थानमा कल्भर्ट बनाउने क्रम जारी रहेको र हालसम्म ३० प्रतिशत काम सकिएको सडक पूर्वाधार कार्यालय पाल्पाले जनाएको छ ।
एक महिनाअघिदेखि सुरु भएको कल्भर्ट निर्माणको काम चालु आवको असार मसान्तभित्रै सक्ने गरी काम भईरहेको कार्यालयका इन्जिनियर अरुण गुप्ताले जानकारी दिनुभयो । काम गर्न समय अबधि २०७८ मङ्सिर १५ सम्म भएपनि निर्माण व्यवसायीले आगामी असारभित्रै काम सक्ने इन्जिनियर गुप्ताले दावी गर्नुभयो ।
सिद्धार्थ दशरथ सिर्जना जेभी रुपन्देहीका प्रतिनिधि सुबोध पाण्डेयले २०७८ असार मसान्तभित्र तीन वटै कल्भर्ट निर्माणको काम सकिने जानकारी दिनुभयो । ‘कल्भर्ट निर्माणको काम यो वर्षको वर्षात्अघि नै सक्ने भईरहेको छ उहाँले भन्नुभयो ।’
यस क्षेत्रमा कल्भर्ट नहुँदा वर्षात्को समयमा जोखिम मोलेर सयौँ सवारीसाधन गुडाउनुपर्ने बाध्यता थियो ।
झडेवा खोला र माडीका दुई साना खोलामा कल्भर्ट बनेपछि भने जुनसुकै समयमा पनि यात्रा सहज हुने स्थानीय बासिन्दाको भनाई छ । ‘कल्भर्ट नहुँदा वर्षात्मा यात्रा गर्न असहज थियो अब कल्भर्ट बनेपछि भने जुनसुकै समयमा अन्यत्र आउन जान सहज हुने भएको छ स्थानीय बासिन्दा जगतबहादुर थापाले भन्नुभयो ।’
यस स्थानमा वर्षौदेखि कल्भर्ट नहुँदा वर्षाको समयमा खोला बढेर दुई÷तीन दिनसम्म सवारीसाधन वारपार गर्न नसक्ने अवस्था रहेको थियो । वर्षौदेखि यस क्षेत्रका नागरिकले कल्भर्ट बनाउन माग गरेपनि बन्न सकेको थिएन ।
यसअघि प्रदेश सरकारको लगानीमा अम्लिहानमा पुल बनाइसकेको छ भने बधबारीमा पनि पुल बनाइरहेको छ ।








प्रतिक्रिया राख्नुहोस्