बेकामे बन्दै उजुरी पेटिका

सल्यान । सल्यानमा सबै सरकारी तथा गैरसरकारी कार्यालयका उजुरी पेटिका रित्तो हुँदै आएका छन् ।
सेवाग्राहीका उजुरी तथा गुनासो पत्र राख्नका लागि राखिएका कार्यालयका पेटिकाहरू उजुरी नै नपर्दा हिजोआज बेकामे जस्तै बन्दै गएका छन् । अधिकांश उजुरी पेटिकामा माकुराले जालो लगाएका छन् ।
कार्यालयमा सेवा लिन आउने सेवाग्राहीको गुनासो तथा उजुरी नपरेका कारण जिल्लामा पछिल्लो समय सुझाव पेटिका प्रयोगविहीन बन्दै गएको सिद्ध कुमाख गाउँपालिका–३ का वडाध्यक्ष शालिकराम बुढाथोकीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘सरकारी कामको पारदर्शीताको लागि उजुरी पेटिकाको महत्त्व भए पनि सेवाग्राहीलाई उजुरी पेटिकाको विषय र महत्त्वका बारेमा खासै जानकारी नभएकाले उजुरी खाली भित्ताले झुन्डिने गरेका छन् ।’
सेवाग्राहीले राखेका गुनासो सम्बोधन गर्ने संयन्त्र नहुनु तथा गोपनीयता भङ्ग हुने डरले पनि उजुरी नपर्ने गरेको दलित विकास समाजका गुमानसिंह नेपालीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘पेटिकामा परेका उजुरी तथा सुझावलाई कसरी सम्बोधन गर्ने भन्नेमा संयन्त्र नभएका कारण र उजुरीको ढिलो जवाफ आउने भएकै कारण पनि उजुरी नपर्ने गरेको पाइन्छ ।’ पछिल्लो समय सूचना प्रविधिको विकास र नागरिकमा चेतनाको वृद्धिकै कारण सुझाव पेटिका प्रयोगविहीन हुने गरेको नेपालीको भनाई छ ।
उजुरी तथा सुझाव दिएर किन दुस्मनी कमाउनु तथा किन नराम्रो देखिनु भन्ने मानसिकताका कारण पनि सुझाव पेटिका खाली हुने गरेको जिल्ला हुलाक कार्यालय सल्यानका हुलाक अधिकृत धिरेन्द्र भण्डारीले बताउनुभयो ।
सरकारी कार्यालयहरूमा कामकारबाही, कर्मचारीको व्यवहार, ढिलासुस्ती लगायतको बारेमा सेवाग्राहीलाई गुनासो र उजुरी गर्न सहज होस भनी उजुरी पेटिका वा गुनासो पेटिका राखिएको भए पनि उजुरी नपर्ने गरेको उहाँको भनाई छ ।
उहाँले भन्नुभयो, ‘सबै सेवाग्राही सम्बन्धित अधिकारी र कर्मचारी समक्ष पुगेर गुनासो र उजुरी गर्न सक्दैनन् त्यसैले सरकारी मात्रै नभई सेवा प्रदायक कार्यालयमा यस्तो पेटिका राख्ने कानुनी प्रावधान छ ।’
उजुरी पेटिकामा उजुरी नपरेपछि कार्यालयमा राखिएका उजुरीका बाकस खासै नखोल्ने र खोले पनि कहिलेकाहीँ मात्रै खोल्ने गरेको कार्यालयका कर्मचारीहरूले बताउने गरेका छन् ।








प्रतिक्रिया राख्नुहोस्