उपत्यका स्तरीय नेपाली सेना “भूतपूर्व सैनिक सम्मेलन–२०७७“ सम्पन्न

काठमाडौँ । नेपाली सेनाले अवकाश प्राप्त सैनिकहरूका लागि स्वदेशमै रोजगारीका अवसरहरू सृजना गरी परिवारसँगै सुखमय जीवनयापन सुनिश्चित गर्न दीर्घकालीन योजना कार्यान्वयनमा ल्याएको छ ।
काठमाडौँ, भक्तपुर र ललितपुरमा बसोबास गर्ने भूतपूर्व सैनिकलाई लक्षित गरी उपत्यका पृतना काठमाडौँमा आयोजित भूतपूर्व सैनिक सम्मेलनको आज उद्घाटन गर्नुहुँदै प्रधान सेनापति पूर्णचन्द्र थापाले नेपाली सेनाको कल्याणकारी कार्यसम्बन्धी दीर्घकालीन योजना २०८७ को लक्ष्य सिप सिकाउनु र आत्मनिर्भर बनाउनु रहेको बताउनुभयो ।

प्रधान सेनापति थापाले कल्याणकारी कोषका हिताधिकारीहरुको आवश्यकता र अपेक्षालाई सम्बोधन हुने गरी कल्याणकारी गतिविधिहरू विकेन्द्रित गरिएको बताउनुभयो ।
समारोहमा बलाधिकृत रथी प्रभुराम शर्माले लडाइँ, बढाइँ, जिम्मेवारी र शान्ति सेनामा खटिँदाका सहयात्रीसँग सुखदुख बढ्न सकियोस् भन्ने उद्देश्यका खातिर विशिष्टीकृत परम्पराका रुपमा भूपू सैनिक सम्मेलन गरिँदै आएको बताउनुभयो ।
पूर्व रथी बालानन्द शर्माले भूपू सैनिकका चाहना, पिर मर्का, सुझाव र प्रस्तावलाई सीमित स्रोत साधनका अलावा सङ्गठनले विस्तार गरेका कल्याणकारी कार्यक्रम सह्रानीय रहेको बताउनुभयो ।

सैनिक कल्याणकारी बोर्डका प्रमुख कार्यकारी अधिकृत गौरव तण्डुलले कोषले महिला उद्यमीका लागि ज्यादै न्यून ब्याजदरमा कर्जा प्रवाह गरेकाले त्यसबाट लाभ लिन हिताधिकारीलाई सुझाव दिनुभयो ।
सम्मेलनमा उपत्यका भित्रका ३ वटा जिल्लाहरू काठमाडौँ, भक्तपुर र ललितपुरमा बसोबास गर्ने भू.पू.सम्मेलनको लागि दर्ता भएका १९ हजार ७ सय ६३ जना मध्ये १ हजार ३ सय जनाको प्रत्यक्ष सहभागिता रहेको थियो भने COVID–19 को कारण अन्यलाई Virtual माध्यम मार्फत सहभागी गराइएको थियो ।

कार्यक्रममा गणेशदल गणबाट २०२८ सालमा अवकाश हुनुभएका ज्येष्ठ भूतपूर्व सैनिक १०० वर्षका काठमाडौँ बौद्ध निवासी सुबेदार नरबहादुर बस्नेत (अ.प्रा) र श्री वीरेन्द्र अस्पतालबाट अवकाशप्राप्त स्वर्गीय हुद्दा प्रेमबहादुर थापा मगर (अ.प्रा.) को श्रीमती वर्ष १०४ की ज्येष्ठ एकल महिला श्रीमती गङ्गादेवी थापामगरलाई सम्मान गरिएको थियो ।
यसै गरी सर्वोत्कृष्ट लघु व्यवसायी बन्न सफल भक्तपुर जिल्ला चाँगुनारायण नगरपालिका–८ का जमदार दत्तुप्रसाद तिमिल्सिना (अ.प्रा.) र भक्तपुर जिल्ला सूर्य विनायक नगरपालिका वडा नं. ९ निवासी जमदार राजन खत्री (अ.प्रा.) को श्रीमती रुकुदेवी खत्रीलाई सम्मान गरिएको थियो ।

समारोहमा ४ वा सो भन्दा बढी सन्ततिहरूलाई नेपाली सेनामा सेवा गर्न अभिप्रेरित गर्ने ८ जना आमा तथा बुबाहरूलाई सम्मान, फरक क्षमता भएका तथा असक्त ६ जनालाई व्हिल चेयर, बैसाखी र आर्थिक सहयोग प्रदान गरिनुका साथै लघुवित्त कार्यक्रम अन्तर्गत महिला उद्यमशील कर्जा प्राप्त गर्ने ऋणीहरूलाई चेक हस्तान्तरण गरिएको थियो ।
यस प्रकारको सम्मेलनले अवकाश प्राप्त सैनिक व्यक्तिहरूको अवकाश पछिको जीवनमा थप ऊर्जा र शक्ति प्रदान गर्नुको साथै समाजमा सम्मानित जीवन यापन गर्दै राष्ट्रिय एकतामा टेवा दिन थप ऊर्जा तथा हौसला मिल्ने नेपाली सेनाले विश्वास लिएको छ ।









प्रतिक्रिया राख्नुहोस्