भूमिहीनको समस्या समाधान यही कार्यकालमा : मुख्यमन्त्री पोखरेल

रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशमा रहेका सुकुम्वासी, अव्यवस्थित, भूमिहीनको समस्याको समाधान यही कार्यकालमा नै हुने बताउनुभएको छ ।
उहाँले सरकारले अव्यवस्थित बसोबास, सुकुम्वासी समस्या समाधान र भूमिहीनहरूको पनि समस्या समाधान गर्ने गरी आयोग नै गठन गरी हाल कार्यलाई तीव्रता दिएको भन्दै समस्याको समाधान छिट्टै हुने बताउनुभएको हो । लुम्बिनी प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको आयोजना बुटवलमा आयोजना गरिएको प्रदेशस्तरीय कार्यक्रममा यस्तो बताउनुभएको हो ।
मुख्यमन्त्री पोखरेलले हाल जिल्ला जिल्लामा आयोग गठन गरी तथ्याङ्क सङ्कलनको काम जारी रहेको भन्दै सङ्कलित तथ्याङ्कलाई छानबिन गरी निश्चित मापदण्डमा रहेर समस्याको समाधान गरिने समेत बताउनुभयो । प्रदेशका १२ वटै जिल्लामा रहेका भूमि सम्बन्धी समस्या समाधान आयोगका अध्यक्ष तथा विज्ञ सदस्यहरूको सहभागितामा यो कार्यक्रम गरिएको थियो ।
कार्यक्रममा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री आरती पौडेलले किसान, सकुम्बासी, भूमिहीनहरूको समस्या समाधानका लागि सरकार तयार रहेको भन्दै जहाँ समस्या छ त्यहाँ समस्या समाधानका लागि प्रदेश सरकार तयार रहेको बताउनुभयो । कार्यक्रममा प्रदेशका १२ वटा जिल्लाका भूमि सम्बन्धी समस्या समाधान आयोगका संयोजक तथा विज्ञ सदस्यहरु तथा प्रतिनिधिहरूले आआफ्नो जिल्लामा भएका कार्यक्रम, कार्य विवरण बारेमा प्रकाश पारेका थिए ।








प्रतिक्रिया राख्नुहोस्