तपाईँ सुन्दै हुनुहुन्छः

बागमती प्रदेशसभा बैठकमा प्रतिपक्षको विरोध

हेटौडा । बागमती प्रदेशसभाको आजको बैठक शुरु भए लगतै नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता शालिकराम जम्मकट्टेलले प्रदेशसभाका बहुसङ्ख्यक सदस्यले मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध ल्याएको अविश्वासको प्रस्तावमाथि छलफल गर्ने मौका नदिएको भन्दै विरोध गर्नुभयो । उहाँले सरकारले एकलौटी ढङ्गबाट जिल्लामा बजेट निकासा र योजनाको बाँडफाँट गरी प्रतिपक्ष दललाई उपेक्षा गरेको आरोप लगाउनुभयो ।
सरकारले एक पक्ष ढङ्गबाट प्रदेशका विभिन्न जिल्लामा विद्युतीय बस सञ्चालन गर्ने भनी आह्वान गरिएको बोलपत्र नाजायज भएको र सो बोलपत्र तत्काल सरकारले नै रद्द गर्नुपर्ने उहाँको माग थियो । प्रदेशसभाका सभामुखले पनि सरकारको दबाबमा परेर अविश्वासको प्रस्तावमाथि छलफल गर्ने वातावरण सिर्जना गर्न नसक्नुभएको बताउँदै नेता कट्टेलले प्रदेशसभाको विभिन्न समिति र कार्य परामर्श समितिको बैठकमा पनि प्रमुख प्रतिपक्ष र अन्य प्रतिपक्षलाई सूचनासमेत नदिएर छलफल अगाडि बढाएकोप्रति दुःख व्यक्त गर्नुभयो ।
उहाँले संसद्मा पेश गरिएको अविश्वासको प्रस्ताव छलफलमा ल्याउन माग गर्दै आफ्नो दलको तर्फबाट फिर्ता नहुने र छलफलमा पराजित भएमा सो नतिजालाई स्वीकार गर्ने बताउनुभयो । नेता जम्मकट्टेलले आफ्नो मन्तव्य सकिने बित्तिकै उहाँका दलका प्रदेशसभाका सांसदले आ–आफ्नो आसनबाट उठेर बैठकको विरोध गर्नुभएको थियो । त्यसपछि सभामुख सानुकुमार श्रेष्ठले चैत २५ गते दिउँसो ११ बजे बस्ने गरी आजको बैठक स्थगित गर्नुभएको थियो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button