माथिल्लो चाकु ‘ए’ जलविद्युत् आयोजनाको निर्माण कार्य सम्पन्न
काठमाडौँ । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ र ५ मा निर्माण भएको २२ दशमलव १ मेगावाटको माथिल्लो चाकु ‘ए’ जलविद्युत् आयोजनाको निर्माण कार्य सम्पन्न भएको छ ।
निजी क्षेत्रको शिवश्री हाइड्रोपावर लिमिटेडद्वारा निर्माण भएको आयोजनाबाट उत्पादित विद्युत् मङ्गलवार राष्ट्रिय प्रसारण लाइनमा जोडिएको र एक सातापछि व्यापारिक उत्पादन शुरु गरिने आयोजनाका कार्यकारी निर्देशक उमेश कसजुले जानकारी दिनुभयो । प्रतिमेगावाट २२ करोड लगानी भएको आयोजनाबाट हाल नदीको बहाव कम भएकाले दैनिक सरदर तीन दशमलव पाँचदेखि चार मेगावाट विद्युत् उत्पादन भएको छ ।
नेपाली प्राविधिकद्वारा डिजाइन गरी सम्पूर्ण कार्य नेपाली प्राविधिकद्वारा नै गरिएको आयोजनाले आयोजनास्थलदेखि २२ किलोमिटर लामो प्रसारण लाइन मार्फत लामोसाधुस्थित राष्ट्रिय प्रसारण लाइनमा विद्युत जोडिएको छ । तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य रहे पनि विसं २०७२ को विनाशकारी भूकम्प, नाकाबन्दी र पटक पटक बाढी पहिरोका कारण लामो समय लागेको आयोजनाले जनाएको छ । उक्त कम्पनीद्वारा निर्माण भइरहेको ३६ मेगावाटको अप्पर बलेफी आयोजनाको काम पनि अन्तिम चरणमा पुगेको कार्यकारी निर्देशक कसजुले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्