बीरगंजबाट भारतीय नम्बरका ४ सवारी साधन नियन्त्रण

वीरगञ्ज । प्रहरीले बीरगंजको नगवाबाट अबैधरुपमा सञ्चालित भारतीय नम्बरको ट्रक, स्कुटर र मोटरसाइकल गरी ४ वटा सवारी साधन नियन्त्रणमा लिएको छ ।
प्रहरीले बीआर ०६ जीडी ४१५६ नम्बरको मालवाहक ट्रक, बीआर ०५ एच १५११ नम्बरको पल्सर मोटरसाइकल, बीआर ०० ३३८९ नम्बरको पेसन प्रो मोटरसाइकल र एक थान नम्बर नखुलेको स्कुटर गरी ४ थान सवारी साधन नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डिएसपी प्रल्हाद कार्कीले जानकारी दिनुभयो ।
बेवारिसे अवस्थामा बरामद सबै सवारी साधनको मूल्य ४१ लाख ६० हजार रुपैयाँ रहेको प्रहरीले अनुमान गरेको छ ।

बीरगंज महानगरपालिका वडा नम्बर १६ स्थित सडक खण्डमा बेवारिसे अवस्थामा रहेका सवारी साधनको बारेमा सोधपुछ गर्दा कोही कसैले हकदाबी नगरेकाले नियन्त्रणमा लिइएको कार्कीले बताउनुभयो ।
सवारी साधनसँग सम्बन्धित आवश्यक कागजातसहित कोही पनि प्रहरी कार्यालयमा सम्पर्क गर्न नआएकाले नियन्त्रणमा लिइएका सवारी साधनहरू आज आवश्यक कारवाहीको लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको डिएसपी कार्कीले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्