‘मेलम्ची आयोजनाले उपत्यकाका जलाधार क्षेत्रको संरक्षणमा योगदान पुग्छ’
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले मेलम्ची खानेपानी आयोजनाले काठमाडौँको खानेपानी समस्या समाधान गर्नुका साथै वातावरण संरक्षणमा समेत महत्त्वपूर्ण योगदान पुग्न विश्वास व्यक्त गर्नुभएको छ ।मेलम्ची खानेपानी आयोजना खानेपानी वितरण कार्यको आज काठमाडौँमा शुभारम्भ गर्नुहुँदै राष्ट्रपति भण्डारीले आयोजनाले खानेपानी समस्या समाधान गर्नुका साथै उपत्यकाका जलाधार क्षेत्रहरूको संरक्षणमा समेत योगदान पुग्ने बताउनुभयो ।
राष्ट्रपति भण्डारीले मेलम्ची आयोजनाबाट दीर्घकालसम्म लाभ लिनका लागि यसको सफल कार्यान्वयन र उचित संरक्षणमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
राष्ट्रपति भण्डारीले पानीको श्रोतमा प्रभाव पार्ने प्राकृतिक प्रकोपको न्यूनीकरण तथा जमिनमुनिको पानी पुनर्भरण एवं हरियाली प्रवर्द्धनमा सबैको ध्यान केन्द्रित हुनुपर्ने बताउनुभयो ।
राष्ट्रपति भण्डारीले मानव जीवनसँग प्रत्यक्ष जोडिएको जलश्रोतको संरक्षण तथा पानीको दिगो उपभोग सुनिश्चित गर्न विश्वविद्यालय एवं प्राज्ञिक संस्थाहरूलाई आवश्यक अध्ययन–अनुसन्धानमा जोड दिन समेत आग्रह गर्नुभयो ।
कार्यक्रममा प्रधानमन्त्री ओलीले कोरोना भाइरसका कारण फैलिएको विश्वव्यापी महामारीका समयमा समेत सरकारले विकास निर्माणका काम प्रभावित हुन नदिएको र त्यसैको परिणाम स्वरूप मेलम्ची लगायतका राष्ट्रिय गौरवका आयोजनाहरू पुरा हुने चरणमा पुगेको बताउनुभयो ।
प्रधानमन्त्री ओलीले आगामी ३ वर्षभित्र मेलम्ची आयोजनाका सहायक आयोजनाहरू याङ्ग्री र लार्के खोलाको पानी समेत काठमाडौँ ल्याएर वितरण गर्ने गरी काम अगाडि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिनुभयो ।

सोही अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले राजनैतिक दलका सीमित नेताहरूको स्वार्थका कारण पुनर्स्थापित प्रतिनिधि सभाले काम गर्न नसकेको समेत बताउनुभएको छ ।
प्रधानमन्त्री ओलीले सरकारलाई काम गर्न नदिएपछि विघटनको सिफारिस गरेको संसद्ले पुनर्स्थापना भएपछि समेत सरकारलाई अगाडि बढ्न नदिएको बताउनुभयो ।
कार्यक्रममा काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले मेलम्ची आयोजनाबाट हाल उपलब्ध हुने पानीले काठमाडौँको सम्पूर्ण माग धान्न नसक्ने हुनाले यसको सदुपयोगमा ध्यान दिन तथा अनावश्यक रूपमा खपत नबढाउन उपभोक्ताहरूलाई आग्रह गर्नुभयो ।
मेलम्ची खानेपानी आयोजना अन्तर्गत सिन्धुपाल्चोकको हेलम्बु–मेलम्ची क्षेत्रका मेलम्ची, याङ्ग्री र लार्के खोलाबाट १७–१७ करोड लिटरका दरले कूल ५१ करोड लिटर पानी काठमाडौँ उपत्यकामा ल्याउने लक्ष्य रहेको छ ।
जसमध्ये आयोजनाको पहिलो चरणमा मेलम्चीबाट १७ करोड लिटर पानी काठमाडौँ ल्याउने काम सम्पन्न भएको छ भने आजदेखि औपचारिक रूपमा ग्राहकको धारामा पानी पुगेको छ ।








प्रतिक्रिया राख्नुहोस्