नेचासल्यान जिल्लाकै पहिलो साक्षर स्थानीय तह

सोलुखुम्बु। सोलुखुम्बुको नेचासल्यान गाउँपालिका जिल्लाकै पहिलो साक्षर स्थानीय तह बनेको छ । नेचामा एक कार्यक्रमको आयोजना गरी साक्षर गाउँपालिकाको रुपमा घोषणा गरिएपछि साक्षर गाउँपालिका घोषणा गर्ने नेचासल्यान जिल्लाकै पहिलो गाउँपालिका बन्न पुगेको छ ।
नेपाल सरकारको साक्षर गाउँपालिका, नगरपालिका तथा जिल्लाको घोषणाका लागि तयार गरिएको अनौपचारिक शिक्षा तथा साक्षरता कार्यक्रम कार्यान्वयन सहजीकरण पुस्तिका २०७५ अनुसार नेचासल्यानको कुल जनसंख्या १५ हजार ५२६ मध्ये ९७ प्रतिशत साक्षर रहेको तथ्याङ्क सङ्कलनपछि साक्षर गाउँपालिका घोषणा गरिएको गाउँपालिका अध्यक्ष डुफकुमार बास्तोलाले जानकारी दिनुभयो ।
नेपाललाई नै साक्षर मूलुक घोषणाका लागि देशभर साक्षर घोषणा अभियान सञ्चालन गरिएको छ । अध्यक्ष बाँस्तोलाका अनुसार नेचासल्यान गाउँपालिकामा १५ वर्षभन्दा माथिको कूल जनसंख्या १२,२६० मध्ये ९६.२० प्रतिशत तथा १५ देखि ६० वर्ष समूहको कूल जनसंख्या १०,६९८ मध्ये ९५.७० प्रतिशत भन्दा बढी साक्षर रहेका छन् ।
अध्यक्ष बाँस्तोलाले शिक्षातर्फको पूर्वाधार विकास लगायत शैक्षिक गतिविधिको सुधारका लागि प्रत्यक्ष तथा अप्रत्यक्ष सहयोग पु¥याउने सबैलाई धन्यवाद दिँदै साक्षर हुन बाँकी रहेका गाउँपालिकाका नागरिकहरुलाई पनि क्रमशः अक्षरी साक्षरसँगै समयसापेक्ष रुपमा सूचनाप्रविधियुक्त साक्षर बनाउनका निम्ति आवश्यक पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा प्रदेश सभा सदस्य बुद्धि कुमार राजभण्डारी, उत्तमकुमार बस्नेत, प्रमुख जिल्ला अधिकारी गणेशविक्रम शाही, जिल्ला शिक्षा समन्वय ईकाइका प्रमुख खगेन्द्र श्रेष्ठ, सुरक्षा निकायका प्रमुख, जनप्रतिनिधि, राजनितिक दलका स्थानीय नेता, प्रध्यानाध्यापक लगायतका सरोकारवालाहरुको उपस्थिती रहेको थियो ।
यस अवसरमा शैक्षिक, भौतिक लगायतका ७ वटा निर्धारित सूचक पुरा गरेकोमा ७ वटा विद्यालयलाई उत्कृष्ट विद्यालयको रुपमा पुरस्कृत गरेको छ । त्यसमध्ये, हिमाल दर्शन मावि, केदार मावि, कालिका आधारभूत विद्यालय र सरस्वति पुर्णरत्न आधारभूत विद्यालयलाई २५ हजार र प्रसंशा–पत्र सहित पुरस्कृत गरिएको छ ।
त्यस्तै, सगरमाथा आवि, शहिदनरनाथ आवि र सुर्यदोय आविलाई २० हजार र प्रसंशा–पत्र सहित पुरस्कृत गरिएको छ ।








प्रतिक्रिया राख्नुहोस्