तपाईँ सुन्दै हुनुहुन्छः

सिन्धुपाल्चोकमा आत्महत्याका घटना बढ्दो, यस बर्षमात्रै ६४ जनाले गरे आत्महत्या

सिन्धुपाल्चोक।जिल्लामा साउन देखि हालसम्म ६४ जनाले आत्महत्या गरेका छन् ।

मङ्गलवार आत्महत्याको जोखिम कम गर्ने उपायबारे जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले सरोकारवाला सँग गरेको छलफलमा उक्त तथ्याङ्क प्रस्तुत गरेको हो ।

लिल्लाको मेलम्ची र चौतारा नगरपालिकामा साउन यता मात्र सबैभन्दा बढी १४ / १४ जनाले आत्महत्या गरेका छन् । लिसंखुपाखर गाउँपालिका बाहेक सबै ठाउँमा आत्महत्या गरेको रिपोर्ट प्रहरीको तथ्याङ्क उल्लेख छ ।

छलफल कार्यक्रममा सिन्धुपाल्चोकमा दिनप्रतिदिन आत्महत्या गर्नेको सङ्ख्या बढ्दै गइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रमुख एवं प्रहरी उपरीक्षक राजन अधिकारीले बताउनुभयो ।

गत आर्थिक वर्षमा जिल्लामा १ सय १५ जनाले आत्महत्या गरेका छन् ।सामान्य अवस्थामा कम आत्महत्याका घटनाहरू घटेको भए पनि कोरोना भाईरस पछिको अवस्थामा आत्महत्याका घटनाहरूमा वृद्धि भएको पाईन्छ ।

चौतारामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलको अध्यक्षतामा चौतारा नगर उपप्रमुख जानुका पराजुली, मेलम्ची उपप्रमुख भगवती नेपाल , बलेफी गा.पा. उपप्रमुख कमला श्रेष्ठ, ईन्द्रावती गा.पा. उपप्रमुख मिरा अधिकारी लामा , जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी उपरीक्षक राजन अधिकारी ,जिल्ला जन स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका वरिष्ठ अधिकृत दुर्गादत्त चापागाई, राष्ट्रिय अनुसन्धान प्रमुख तथा मनोबिमर्शकर्ता, रेडक्रस, नगर स्वास्थ्य प्रमुख,क्याम्पस प्रमुख, सञ्चारकर्मी लगायत अन्य सरोकारवाला निकायहरुको उपस्थिति रहेको थियो ।

सो छलफल कार्यक्रममा आत्महत्या रोकथाम तथा न्यूनीकरण सम्बन्धी कार्य योजना निर्माण तथा कार्यान्वयनको लागि आवश्यक छलफल तथा अन्तरक्रिया कार्यक्रम गरिएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button