तपाईँ सुन्दै हुनुहुन्छः

आइतबारसम्म मौसम स्थिर रहने

file photo

काठमाडौँ । देशका विभिन्न जिल्लामा लागेको डढेलो एवं धुवाँ धुलोबाट सिर्जित प्रदूषणका कण वायुमण्डलमा जम्मा हुँदा केही दिन देखी काठमाडौँ उपत्यकासहित देशका विभिन्न जिल्लामा बाक्लो तुवाँलो लागेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आइतबारसम्म मौसम स्थिर रहने छ भने सोमबारबाट क्रमिक रुपमा सुधार आउने छ ।

मौसममा पूर्ण रुपमा सुधार आउन ठूलो वर्षा वा हावा–हुरी चल्नुपर्ने भए पनि  तत्काल वर्षा र हावाहुरीको सम्भावना नरहेको हुनाले चैत्र महिना भरी नै मौसममा पूर्ण रुपमा सुधार आउन सम्भावना नरहेको वरिष्ठ मौसम विद् वरुण पौडेलले जानकारी दिनुभयो ।

रेडियो नेपालसँग कुरा गर्नुहुँदै मौसमविद् पौडेलले यस वर्ष पर्याप्त हिउँदे वर्ष नहुँदा धुलोको कण वायुमण्डलमा लामो समय सम्म जम्मा भएका कारण मौसममा खराबी आएको बताउनुभयो ।

मौसमविद् पौडेलले पश्चिमी वायुको प्रभावका कारण देशका पश्चिमी क्षेत्रमा रहेको प्रदूषणका कणहरू समेत पूर्वतर्फ सर्दै आएको हुनाले काठमाडौँ उपत्यका र आसपासको क्षेत्रमा बढी असर परेको बताउनुभयो ।

यसैबीच वायुमण्डलमा देखिएको प्रदूषणका कारण स्वास्थ्यमा पर्ने नकारात्मक असर आँखा पोल्ने र शवसप्रशवसमा समेत समस्या आउन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले आग्रह गर्नु भएको छ ।

मन्त्रालयका प्रवक्ता गौतमले यसबाट बच्न अत्यावश्यक काम बाहेक घरबाहिर ननिस्कन र निस्किनु परेमा मास्क लगाउनुका साथै आवश्यक सतर्कता अपनाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आग्रह गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button