कर्णाली करिडोरको १२२ किमी सडक निर्माण

जुम्ला । कर्णालीको जीवन रेखा गौरवको आयोजना कर्णाली करिडोरको १ सय २२ किलोमिटर सडक निर्माण सम्पन्न भएको छ । कालिकोटको हुल्म हुँदै हुम्लाको सल्लीसल्ला सम्मको १ सय २२ किमी सडक निर्माण सम्पन्न भएको हो ।
माथिल्लो कर्णाली लगायत सुर्खेत, दैलेख, कालिकोट, बाजुरा हुँदै हुम्ला जिल्लालाई चीनको उत्तरी नाकासँग जोडेर व्यापारिक सम्बन्ध नयाँ उचाइमा पुराउने लक्ष्यका साथ निर्माणाधीन कर्णाली करिडोरको निर्माण उल्लेखनीय रुपमा भइरहेको छ ।
प्रधानमन्त्री विकास विज्ञ इन्जिनियर गजेन्द्र थपलियाले गएको हप्ता कर्णाली कोरिडोरको प्रगतिबारे स्थलगत उच्चस्तरीय अवलोकन भ्रमण गर्नु भएको छ । करिडोरको निर्माण गतिलाई हेर्दा दशकौँ देखिको कर्णालीवासीको सडक सपना अब केही महिनाभित्रै पुरा हुने थपलियाले बताउनुभयो । करिडोरको १ सय २२ किमी सडकको स्थलगत अनुगमन गरेको इन्जिनियर थपलियाले कर्णाली करिडोर निर्माण कार्य अन्तिम चरणमा पुगेको उल्लेख गर्नुभयो ।

प्रधानमन्त्रीको सचिवालयले मुलुकको पूर्वाधार विकासलाई चारैतिरबाट गति प्रदान अनुगमन तथा निरीक्षणलाई तीव्रता दिएकोले कर्णाली कोरिडोरको निर्माण गतिले कर्णालीमा विकासको आयाम थपिएको उहाँको भनाई छ ।
कडा चट्टान फाँड्दै नेपाली सेनाले जोखिम मोल्दै १ सय २२ किमी सडकको निर्माण कुशलता पूर्वक निर्माण गरेकोमा विकास विज्ञ थपलियाले सेनाको प्रशंसा समेत गरेका छन् । अब छिटै चीन सँग व्यापारिक सम्बन्ध बढ्ने, कर्णालीको आर्थिक विकासले गति दिने र चीनबाट कर्णाली प्रत्यक्ष लाभ लिने समेत आशा गरिएको छ ।
विकास विज्ञ थपलियाले कर्णाली करिडोर सँगै कर्णाली राजमार्ग, नाग्म गमगडी सडकको समेत निरीक्षण गरेका छन् । सडक डिभिजन जुम्लाका प्रमुख लीला बहादुर भण्डारीले कर्णालीको पूर्वाधार विकासमा प्रधानमन्त्रीका विकास विज्ञको विशेष चासो गरेको बताउनुभयो । उहाँले भन्नुभयो,“पहिलो पटक करिडोरको १ सय २२ किमी सडकको उच्चस्तरीय स्थलगत अनुगमन भएको छ । अब हुम्ला जोड्न करिब १६ किमी मात्रै बाँकी रहेको छ । भने, करिडोरको दुर्त विकासले समृद्धिको आशा पलाएको छ ।”

साथै, जुम्ला सदरमुकाममा इतिहासमै पहिलो पटक १० मिटर चौडा सडक कालोपत्रे भएकोमा समेत प्रधानमन्त्रीका विकास विज्ञले खुसी व्यक्त गरेका छन् । साथै कर्णाली राजमार्गको स्तर बृद्धि तथा नाग्मगमडी सडकको कालोपत्रेका लागि विकास विज्ञ थपलियाले चासो दिएको भण्डारीले बताउनुभयो ।
भण्डारीले थप्नुभयो,“अस्थिर राजनीति र लगानीका अभावले लक्ष्य अनुसार निर्माण नभएको करिडोरको सेनाले जिम्मा लिँदा गति लिएको थियो । जोखिम मोल्दै कडा चट्टान फाँडेर सेनाले कर्णालीलाई चीन सँग जोड्न दिएको योगदान सराहानिय रहेको छ ।”
प्रधानमन्त्रीका रुपमा केपी शर्मा ओली सरकारले राष्ट्रिय गौरव तथा दीर्घकालीन महत्त्वका रणनीतिक सडकहरूमा प्रत्यक्ष निगरानी गर्न थालेपछि कर्णाली कोरिडोर निर्माणले गति लिएको थियो । राष्ट्रिय राजमार्गमा नजोडिएको हुम्ला सहितका आसपास जिल्लाका करिब ४० प्रतिशत जनता यो करिडोरबाट लाभान्वित हुने भएका छन् ।
विकास विज्ञको अनुगमनले आशा
प्रधानमन्त्रीका विकास विज्ञ इन्जिनियर दिनेश थपलियाको भ्रमणले कर्णालीको पूर्वाधार विकासमा उल्लेखनीय सुधार हुने आशा गरिएको छ । नागरिक समाज जुम्लाका अध्यक्ष राज बहादुर महतले भने,“विकास विज्ञको भ्रमणले कर्णालीको पूर्वाधार विकासले गति लिने आशा छ । कर्णालीका दुर्गम बस्तीलाई सडकसँग जोड्न सङ्घीय सरकारले पर्याप्त लगानी गर्नुपर्छ ।”

बाह्य तथा आन्तरिक लगानीका कारण कर्णालीका दर्जनौँ योजनाहरू अलपत्र परेकोले लगानी जुटाउन सघ र प्रदेश सरकार गम्भीर हुनुपर्ने उहाँको भनाई छ ।
कर्णाली करिडोरको विकासले हुम्लाको सर्केघाट, अदानचुली, ताजाकोट गाउँपालिका बाजुराको हिमाली, जगन्नाथ गाउँपालिका बुढिनन्दा नगरपालिका कालिकोटको पचलझरना,सान्नि त्रिवेणी,नरहरिनाथ,कालिका गाउँपालिका रासकोटका दुर्गम बस्ती सडक सँग जोडिने भएका छन् । विकास विज्ञ थपलियाले गत हप्ता कर्णाली प्रदेश अन्तर्गतका ९ जिल्लाको पूर्वाधार विकासको भ्रमण अवलोकन गर्नु भएको छ ।








प्रतिक्रिया राख्नुहोस्