कर्णाली प्रतिष्ठानद्वारा जुम्लामा पोषण पुनर्स्थापना गृह सञ्चालन

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले जुम्लामा पोषण पुनर्स्थापना गृह सञ्चालन गरेको छ । प्रतिष्ठानको कार्यक्षेत्र पर्ने १३ जिल्लाका सयौँ सिग्र कुपोषण भएका बालबालिकालाई पोषणयुक्त बनाउने लक्ष्यका साथ पोषण पुनर्स्थापना गृह सञ्चालनमा ल्याइएको हो ।
नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको सहयोग तथा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले पोषण पुनर्स्थापना गृह सञ्चालन गरेको प्रतिष्ठानका रजिस्टार विश्वराज काफ्लेले बताउनुभयो । उहाँका अनुसार पोषण पुनर्स्थापना गृह सञ्चलनले दुर्गम क्षेत्रका बालबालिकाको कुपोषण स्थितिमा उल्लेखनीय सुधार हुने आशा गरिएको छ ।
यता चन्दननाथ नगरपालिका ३ की जमुना नेपालले पोषण गृहमा ल्याएपछि बच्चाको स्वास्थ्य तथा पोषण अवस्था पहिलाको भन्दा निकै सुधार भएको बताउनुभयो । उहाँले २० दिन पोषण पुनर्स्थापना गृहमा बस्दा बच्चामा निकै सुधार भई पोषणयुक्त भएपछि घर फर्किएको सुनाउनुभयो । चिकित्सकले बच्चालाई घरमा पोषणयुक्त खानेकुरा ध्यान दिनुपर्ने सुझाव र सल्लाह दिएको र बच्चालाई स्वस्थे र पोसिलो राख्न खानपिनमा विशेष ध्यान पुर्याउने उहाँको भनाई छ ।
सिंजा गाउँपालिकाकी दिलमाया रावतले आफ्नो बच्चा कुपोषित बच्चालाई पोषण पुनर्स्थापना गृहमा भर्ना गर्नु भएको छ । अरूका जस्तै २० दिनको अवधिमा आफ्नो बच्चालाई पोषणमा सुधार उहाँको अपेक्षा छ । पहिला भर्ना भएका बच्चा पोषणयुक्त भएर घर फर्किएका छन् ।
प्रतिष्ठानले १६ फागुनदेखि पोषण पुनर्स्थापना गृह सञ्चालनमा ल्याएर निःशुल्क सेवा गर्दै आएको छ । पोषण पुनर्स्थापना गृहमा हाल भर्ना भएका ५ जना कुपोषण बालबालिका मध्ये २ जनालाई पोषणयुक्त बनाएर घर पठाएको छ । भने, २० दिनसम्म पोषण पुनर्स्थापना गृहमा भर्ना गरी पोषणयुक्त बनाएर घरमा पुनर्स्थापना गरिएको पोषण पुनर्स्थापना गृहका संयोजक निशान्त लामाले बताउनुभयो । उहाँले भन्नुभयो,“कर्णाली प्रदेशका १० जिल्लासहित सुदूरपश्चिमका ३ जिल्लाका कुपोषण बालबालिकालाई पोषण पुनर्स्थापना गृहमा भर्ना गरी पोषणयुक्त बनाउने लक्ष्य छ । पर्याप्त जानकारी नपुगेको भर्ना हुने क्रम जारी रहेको छ ।”
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका नसिङ प्रमुख सविना थापाले कुपोषित बालबालिकालाई २० दिनमै पोषणयुक्त बनाएर घर पठाउन सकेको उल्लेख गर्नुभयो । कर्णालीमा जति पनि कुपोषित बालबालिका छन् । उनीहरूको पोषणमा सुधार ल्याउनका लागि नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले पोषण पुनर्स्थापना गृह सञ्चालनमा ल्याएको हो । कुपोषित बालबालिकालाई घरमा राख्नु हुँदैन । बालबालिका कुपोषित भएको खण्डमा पोषण पुनर्स्थापना गृहमा तत्काल भर्ना गर्न आग्रह गरिएको छ ।
कर्णाली प्रदेशको माथिल्लो कर्णाली (जुम्ला, हुम्ला, डोल्पा, कालिकोट र मुगु) जिल्लाका सिग्र कुपोषण बालबालिका ७ दशमलव ५ प्रतिशत, कम तौल भएका ३५ दशमलव ६ प्रतिशत र ५४ दशमलव ५ प्रतिशत होचा (पुड्का) बालबालिकाको तथ्याङ्क रहेको छ ।








प्रतिक्रिया राख्नुहोस्