करदाता शिक्षा सम्बन्धी अछाममा अन्तरक्रिया

अछाम । अछाममा करदाता शिक्षा सम्बन्धी अन्तरक्रिया गरिएको छ ।
अछाम चेम्बर अफ कमर्सको आयोजनामा भएको अन्तरक्रिया कार्यक्रममा करदाता शिक्षा, अहिलेको अवस्था, कारोबार गर्ने व्यक्तिले ध्यान दिनुपर्ने कुरा, प्रतिबन्धित सामान बेच्न नपाइने लगायतका विषयमा छलफल गरिएको हो ।
अछाम चेम्बर अफ कमर्सका अध्यक्ष खेमराज ढुङ्गानाको अध्यक्षतामा भएको कार्यक्रममा करदाता सेवा कार्यालय साँफेबगरका कर अधिकृत धर्म बहादुर रोकायले कार्यक्रममा सहभागी व्यापारी तथा सरोकारवालाले सोधेका भएको प्रश्नको जवाफ दिनुहुँदै हाम्रो समाजमा अहिले पनि कर भन्ने बित्तिकै डराउने प्रचलन रहेकाले करले डराउने नभई कर भनेको हरेक व्यवसायको भर भएकाले राज्यलाई कर तिर्नमा कञ्जुसाई गर्न नहुने बताउनुभयो ।
करले हरेक व्यक्तिको लगानी सुरक्षित गर्ने भएकाले करदाता शिक्षालाई ग्रामीण क्षेत्र सम्म पुर्याउनु पर्ने अहिलेको आवश्यकता रहेको कर अधिकृत रोकायाको भनाई छ ।
कार्यक्रममा सहभागी व्यापारीहरूले दोहोरो कर नीति हटाउनु पर्ने, करदातालाई सहज हुने गरी कर तिर्ने व्यवस्था गर्नुपर्ने, कर कार्यालयमा दर्ता नगरेरै व्यवसाय गरिरहेका व्यापारीहरूलाई करको दायरामा ल्याउनुपर्ने लगायतका सुझाव राखेका थिए ।
चेम्बर अफ कमर्स अछामका अध्यक्ष खेमजराज ढुङ्गानाले करदातालाई सहज पार्न आफ्नो शाखाले आगामी दिनमा गतिविधि सञ्चालन गर्ने प्रतिबद्धता जनाउनुभयो ।
कार्यक्रममा उद्योग वाणिज्य सङ्घ अछामका उपाध्यक्ष राम बहादुर शाही, मङ्गलसेन नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र बहादुर सोडारी लगायतले मन्तव्य राख्नुभएको थियो ।








प्रतिक्रिया राख्नुहोस्