तपाईँ सुन्दै हुनुहुन्छः

७ लाख ७५ हजार नगद र ३ करोड ५६ लाखको चेक सहित एक पक्राउ

वीरगंज । श्रोत खुल्न नसकेको ७ लाख ७५ हजार नेपाली नगद रुपैयाँ सहित ३ करोड ५६ लाख ३१ हजार १ सय ४ रुपैयाँ बराबरको चेक सहित हुन्डी कारोबारमा संलग्न रहेको आरोपमा पर्सा प्रहरीले वीरगन्जबाट एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीले बाराको कलैया उपमहानगरपालिका वडा नम्बर २३ निवासी ३८ वर्षीय जयराम राउत कुर्मीलाई पक्राउ गरेको हो ।

वीरगन्ज महानगरपालिका वडा नम्बर ६ स्थित माँ अम्बे ट्रेडर्सबाट अवैध वित्तीय कारोबार भइरहेको सूचना को आधारमा घटना स्थलमा पुगेको प्रहरीले सोही ट्रेडर्समा काम गर्ने कुर्मीलाई स्रोत खुल्न नसकेको नेपाली ७ लाख ७५ हजार ४ सय ७० रुपैयाँ, नगद  विभिन्न बैङ्कका विभिन्न व्यक्ति तथा संस्थाका नाममा जारी भएको ३ करोड ५६ लाख ३१ हजार १ सय ४ रुपैयाँ  बराबरका ९० थान चेकहरू विभिन्न बैङ्कका खाली चेक बुक २१ थान र हस्ताक्षर भएका विभिन्न बैङ्कका खाली चेक ४१ थान फेला परेको हुँदा उक्त चेक तथा चेक बुकहरू बरामद गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं डिएसपी ओम प्रकाश खनालले जानकारी दिनुभयो ।

पक्राउ परेका कुर्मीविरुद्ध बैङ्क तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ अन्तर्गतको कसुरमा अनुसन्धान अगाडि बढाइएको प्रवक्ता खनालले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button