चुरीयामाईमा दक्षिण एसियाकै पहिलो सुरुङ मार्ग निर्माणकर्ताको सालिक राखियो
मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौँडामा दक्षिण एसियाकै पहिलो सुरुङमार्गका निर्माणकर्ता डिल्लीजंग थापाको सालिकको राखिएको छ ।
आज एक कार्यक्रमकाबीच दक्षिण एसियाकै पहिलो सुरुङ मार्गका निर्माणकर्ता नेपालका प्रथम ग्र्याजुएट सिभिल इन्जिनियर ब्रिगेडिएर कर्णेल थापाको अर्ध कदको सालिक चुरिया माई मन्दिर परिसरमा राखिएको हो ।
हेटौँडा उपमहानगरपालिकाद्धारा ४ लाखको लागतमा निर्माण गरिएको नेपाली सेनाका सिभिल इन्जिनियर, बिग्रेडियर कर्णेल थापाको अर्ध कदको सालिक अनावरण गरिएको हो । सालिकको हेटौँडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले अनावरण गर्नुभएको हो ।
सालिक अनावरण गर्नुहुँदै मेयर महतले पुराना सम्पदाहरूको संरक्षण गर्नुपर्ने बताउनुभयो । दक्षिण एसियाकै पुरानो चुरिया माई सुरुङ मार्गको परिकल्पनाकार बिग्रेडियर जनरल थापाको सालिक काठमाडौँबाट निर्माण गरेर ल्याइएको हो ।
सन् १९१७ मै बनेको दक्षिण एसियाको सबैभन्दा पुरानो चुरिया माई सुरुङ ९ फिट चौडाइ र १० फिट अग्लो तथा ५ सय मिटर लामो रहेको छ । सुरुङ मार्गको दक्षिणी भाग अहिले पनि राम्रै अवस्थामा छ भने उत्तरी भाग भने पुरिएको छ ।
बागमती प्रदेश सरकारले पनि जीर्ण अवस्थामा रहेको उक्त सुरुङ मार्गको संरक्षण र संवर्धन गर्ने भएको छ । प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले दक्षिण एसियाकै पुरानो सुरुङ मार्गमा यातायात चल्ने गरी मर्मत गर्ने तयारी गरेको छ ।
प्रदेश सरकारले उक्त सुरुङ मार्ग मर्मत गर्न पुरातात्त्विक विभागसँग परामर्श गरेर पुनर्निर्माण कार्यको लागि बोलपत्र आह्वान समेत गरिसकेको छ । प्रदेश सरकारले ४ करोड बजेट विनियोजन गरेर चुरिया माई सुरुङ मार्गको पुनर्निर्माण कार्य अगाडि बढाएको छ ।
बागमती प्रदेशको दक्षिणी र प्रदेश नम्बर २ को उत्तरी सिमानामा चुरीयामाई मन्दिर अवस्थित छ ।








प्रतिक्रिया राख्नुहोस्