तपाईँ सुन्दै हुनुहुन्छः

नेपाल महिला चेम्बरद्वारा विशेष समारोहको आयोजना

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सको ७० औँ वार्षिकोत्सव तथा १११ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा चेम्बर अन्तर्गतको नेपाल महिला चेम्बरले विशेष समारोह आयोजना गरेको छ ।

समारोहको सोमबार उद्घाटन गर्नुहुँदै उपराष्ट्रपति नन्दबहादुर पुनले महिलाहरूद्वारा सञ्चालित उद्यमहरूको प्रवर्द्धनका लागि विशेष कार्यक्रम ल्याउनु आवश्यक भएको बताउनु भयो ।

उपराष्ट्रपति पुनले कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान घट्दै जानु चिन्ताको विषय भएको उल्लेख गर्नुभयो ।

उपराष्ट्रपति पुनले सामाजिक राजनीतिक रूपान्तरणमा महिलाहरूको महत्त्वपूर्ण भूमिका रहे पनि त्यो भूमिकाको वास्तविक सम्मान हुन नसकेको बताउनुभयो ।

कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले महिलाहरूद्वारा सञ्चालित फर्म तथा व्यावसायिक प्रतिष्ठानहरूलाई करमा विशेष छुट दिन आग्रह गर्नुभयो ।

अध्यक्ष श्रेष्ठले सरकारले महिलाद्वारा सञ्चालित व्यवसायलाई १५ लाखसम्म बिना धितो ऋण दिने नीति लिए पनि विभिन्न झन्झट बेहोर्नुपरेको भन्दै महिलाहरूले उत्पादन गरेका सामानहरू प्रयोग गर्न र विदेशसम्म निर्यात हुने वातावरण बनाउन आग्रह गर्नुभयो ।

नेपाल महिला चेम्बरका अध्यक्ष उर्मिला श्रेष्ठले राजनीतिक आर्थिक अधिकार पाए पनि कार्यान्वयन फितलो हुँदा महिलाहरू लाभान्वित हुन नसकेको बताउनुभयो ।

उक्त अवसरमा उपराष्ट्रपति पुनले नेपाल चेम्बर अफ कमर्सको ७० औँ वार्षिकोत्सव तथा १११ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर आयोजित तीन दिने ट्रेड फेयरको पनि उद्घाटन गर्नुभयो ।

सोमबारदेखि सुरु भएको व्यापार मेला बुधवारसम्म चल्नेछ ।

यसैबिच, चेम्बरले १११ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा महिला चेम्बरले पाँच जना महिला व्यवसायीहरूलाई सम्मान गरेको छ । सम्मानित हुने महिला व्यवसायीहरूलाई प्रमुख अतिथि उपराष्ट्रपति नन्दबहादुर पुनले सम्मान पत्र प्रदान गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button